प्रचण्डसमक्ष माधव नेपालको यस्तो छ प्रस्ताव

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको आन्तरिक विवादले पार्टी नै फुटको संघारमा पुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच यतिवेला पानी बाराबारको अवस्था छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले आफूसँगको भेटवार्तामा ‘अब अलग अलग जाऔं, सँगै हिँड्न सकिँदैन’ भनेर गरेको प्रस्ताव गरेको भनेर दाहालले आफूनिकट नेताहरुसँग गरेको ब्रिफिङले पनि नेकपामा गम्भीर दुर्घटना निम्तिन लागेको बुझ्न सकिन्छ ।

यो बीचमा दुवै पक्ष आ–आफ्नो समूहका नेताहरुसँग रणनीतिक छलफलमा समेत जुटेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका निर्णय नमानेको दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको आरोप छ । तर, प्रधानमन्त्री ओलीले भने दाहाल–नेपाल पक्षले प्रभावकारी रुपमा आफूलाई काम गर्न नदिएको र सधैं भागबण्डाको राजनीति गरेको आरोप लगाएका छन् ।

महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले समेत पार्टी एकता गम्भीर संकटको मोडमा आईपुगेको भन्दै एकता बचाउनको लागि देशभरिका नेता÷कार्यकर्ता एकजुट भएर उभिनुपर्ने अपिल गरेका छन् । नेकपाका प्रभावशाली नेताहरुले सामाजिक सञ्जालमार्फत पार्टी एकता संकटमा परेको र एकता बचाउनुपर्ने आशयका प्रतिक्रिया र टिप्पणीहरु आईरहेका छन्।

दाहाल भने ओलीसँग अब वारपारको लडाई लड्ने पक्षमा पुगेका छन् । दाहाल समूहमा रहेका वरिष्ठ नेता नेपालले भने एकपटक ओलीसँग वार्ता गरेर नै अघि बढ्नुपर्ने पक्षमा छन् । स्रोतकाअनुसार नेता नेपालले एकपटक ओलीसँग गम्भीर वार्ता गर्न दाहाललाई आग्रह गरेका छन् । -reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार