कोरोनाभाइरस संक्रमण विश्वव्यापीरुपमा निकै बढेको छ । संक्रमणमुक्त भएका देशहरुमा समेत पुन संक्रमण देखिन थालेको छ । केही देशमा भने एकपटक भाइरसलाई जितिसकेका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ ।
यसरी पुन संक्रमण देखिने व्यक्तिहरुमा झन् जटिल स्वास्थ्य समस्या आउनसक्नेसमेत वैज्ञानिकहरुले जनाएका छन् ।
गत अगस्ट २५ तारिखमा अमेरिकाको क्लिनिकल इन्फेक्सियस डिजिजेज् नामक जर्नलमा हङकङ निवासी एक ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण जितेको १४२ दिनको दिन पुन संक्रमण देखिएको प्रकाशन भयो ।
जर्नलले पुन संक्रमण देखिएका उनमा भाइरसको प्रवृत्ति फरक पाइएको र स्वास्थ्यमा जटिल समस्यासमेत देखिएको उल्लेख गरेको छ ।
अमेरिका, बेलायत, रुस, नेदरल्यान्ड्स र कोरियालगायतका देशमा संक्रमण पुनः दोहोरिएको घटनाहरु प्रकाशनमा आइरहेका छन् । ती संक्रमण पहिलो संक्रमणभन्दा भिन्न र जटिल पाइएको वैज्ञानिकहरुले जनाएका छन् ।
भाइरस नयाँ रुपबाट वा फरक प्रवृत्तिबाट अनुवंशिक परिवर्तन भयो भने त्यसले भयावह रुप लिनसक्ने वैज्ञानिकहरुले बताउँदै आएका छन् ।
किन फर्कन्छ भाइरस ? किन एकपटक निको भइसकेका व्यक्तिलाई पुनः संक्रमण देखिन्छ ?
यसबारे हामीले स्वास्थ्य मन्त्रालयका विज्ञ स्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीलाई सोधेका थियौं । उहाँको भनाइ भिडियोमा हेर्नुहोस् ।
विश्वमा हाल कोरोनाभाइरसको ‘जेनेटिक’ परिवर्तन भइसक्यो भन्ने आँकलनमात्र गरिएको छ । यसको वैज्ञानिक आधारमा पुष्टि भने भइसकेको छैन ।
तर, एकपटक संक्रमण देखिएको व्यक्तिमा पुनः संक्रमण कति समयपछि देखिन्छ भन्नेमा भने वैज्ञानिकहरुले प्रश्न उठाएका छन् । भाइरसविरुद्ध शरीरमा रोगसँग लड्नसक्ने क्षमता कति समयसम्म हुन्छ अझै निर्क्योल हुन नसकेको डा. तिवारी बताउनुहुन्छ ।
कोरोना संक्रमण फैलिरहेको समयमा नै मानिसहरुको आवात–जावत बढेका कारण पनि भाइरसको जेनेटिक परिवर्तन भएको हुनसक्ने डा. तिवारीको भनाइ छ ।
एकपटक संक्रमण जितेका व्यक्तिमा पुन संक्रमण भए त्यो जटिल हुने र त्यसले शरीरका विभिन्न अंगहरुमा असर गरी मृत्यु हुने दरसमेत बढाउने उक्त जर्नलमा उल्लेख गरिएको छ ।
नेपालमा गएको असोज १६ देखि आउँदो पुस १६ गतेसम्म तीन महिना संक्रमण उच्च विन्दुमा पुग्ने र त्यसपश्चात् भने घट्ने स्वास्थ्य मन्त्रालयको आँकलन छ । तर, नेपालमा भने हालसम्म पुनः संक्रमण भइ जटिल स्वास्थ्य समस्या भएको भने पाइएको छैन ।-imagekhabar.com