काङ्गेलडाँडा विमानस्थल मङ्सिरदेखि सूचारु हुन्छ : मन्त्री भट्टराई


सोलुखुम्बु । संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बर्षौदेखि बन्द रहेको काङ्गेलडाँडा विमानस्थल आगामी मङ्सिरदेखि सूचारु गर्ने आश्वासन दिनुभएको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–२ मा करोडौँको लगानीमा वर्षौंअघि बनेको उक्त विमानस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री भट्टराईले एयरलाइन्सहरुसँग छलफल गरेर इच्छुक एयरलाइन्सलाई मङ्सिरदेखि उडान भर्ने वातावरण बनाउने बताउनुभयो ।

कम्तीमा पनि हप्ताको एक उडानबाट थालेर त्यसपछि यात्रुको चापअनुसार उडान थप्दै लान सकिने उहाँको भनाइ छ । काठमाडौँ फर्केर सम्बन्धित पक्षसँग छलफल चलाउने र इच्छुक एयरलाइन्सलाई उडान अनुमति दिने मन्त्री भट्टराईले बताउनुभयो । जनश्रमदान सहित राज्यको करोडाँै लगानीमा निर्माण भएको विमानस्थल स्थानीय सरकारसँग समन्वय गरेर पुनः सञ्चालनका लागि मापदण्ड तयार पार्ने उहाँको भनाइ छ ।
त्यस अवसरमा प्रतिनिधि सभा सदस्य हेमकुमार राईले जनताको मागअनुसार विमानस्थलको स्तरोन्नती गरेर सेवा सूचारु गर्नेपर्ने धारणा राख्नुभयो । जनप्रतिनिधिको लामो प्रयासपछि मन्त्रीज्यूको निरीक्षणको मौका मिलेको छ, दिगो सञ्चालनका लागि उचित मोडालिटी आत्मसाथ गर्नुपर्छ, उहाँले थप्नुभयो ।

मन्त्रीका साथमा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य उत्तम बस्नेत, स्थानीय, प्रदेश र संघीय सरकारको अनुदानको सहयोगमा भएपनि काँगेल विमानस्थलमा सके काठमाण्डौँ–काङ्गेल नसके विराटनगर–काङ्गेल उडान गर्न सुझाव दिनुभएको छ । विमानस्थल चले ग्रामिण भेगका नागरिक लाभान्वित हुने उहाँहरुकोको भनाइ छ ।

सो अवसरमा विमानस्थल रहेको थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले बन्द काङ्गेल विमानस्थलमा मङ्सिर देखि उडान भर्ने दाबी गर्दै सञ्चालनमा स्थानीय सरकारले साझेदारी गर्ने बताउनुभयो । उडान खर्च नउठ्ने अवस्था रहे लागत साझेदारी गर्न स्थानीय सरकार तयार रहेको उहाँको भनाइ छ ।

उक्त विमानस्थलमा २०६२/०६३ देखि उडान सेवा सुरु भएको थियो । पटक पटक बन्द हुँदै २०७२ सालसम्म नेपाल एयरलाईन्स र तारा एयरलाईन्सले उडान भर्दै आएका थिए । त्यसपछि अहिलेसम्म विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

अर्को प्रसङ्गमा संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेकपाभित्रको वर्तमान विवाद सैैद्धान्तिक नभई पद र प्रतिष्ठाको मात्र भएको बताउनु भएको छ । मन्त्री भट्टराईले व्यक्तिगत आकांक्षाको व्यवस्थापन हुन नसक्दा पार्टीभित्र तनाव उत्पन्न भएको भन्दै तत्काल पार्टी नफुट्ने दाबी गर्नुभयो । व्यक्तिगत टकराब नै मुख्य समस्या रहेको औँल्याउदै नेकपाका नेता समेत रहेका भट्टराईले चाँडै सबै नेताको उचित ब्यवस्थापन हुने जिकिर गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार