सोलुखुम्बु ।सोलुखुम्बुमा जिल्ला अस्पताल फाप्लुका चिकित्सक सहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
कात्तिक १८ गते मङ्गलबार स्वाब पठाइएका ३९ जनामध्ये तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । सङ्क्रमित हुनेमा जिल्ला अस्पतालमा कार्यरत २६ बर्षिय चिकित्सक, सोलुदूधकुण्ड नगरपालिका–५ की ६५ बर्षिया महिला र सुनसरी घर भएका २६ बर्षिय पुरुष रहेका छन् ।
सङ्क्रमित चिकित्सक कोरोनाको सम्भावित लक्षण देखिनासाथ होम क्वारेन्टीनमा बस्नुभएको थियो । उहाँमा सुख्खा खोकी छ । ६५ बर्षिय बृद्धालाई थप उपचारका लागि वीर अस्पताल रेफर गरिएको छ । उनी दमको रोगी हुनुहुन्छ ।
अर्का सङ्क्रमित पुरुष सल्लेरीमा घर निर्माणका लागि आउनुभएको हो । उहाँसँगै आएका चार जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो । सङ्क्रमित पुरुषलाई क्वारेन्टीनमा राखिएको छ ।
त्यस्तै, सोलुदूधकुण्ड नगरपालिका–२ बेनीका चार सङ्क्रमितले कोरोना जितेका छन् । एक जनप्रतिनिधि, प्रहरी इन्चार्ज, एम्बुलेन्स चालक र स्थानीयमा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरुले ११ दिनपछि कोरोना जितेको वडाअध्यक्ष मिङ्मारदोर्जी शेर्पाले जानकारी दिनुभयो ।