सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीमा पहिलो पटक महिलालाई १५ दिने आधारभूत ब्याडमिन्टन तालिम प्रदान गरिएको छ । ब्याडमिन्टन सङ्घ सोलुखुम्बु र स्वर्णिम सारथी संस्था सोलुखुम्बुको आयोजनामा ब्याडमिन्टन खेलको विकासका लागि महिलालाई तालिम दिइएको हो ।
१३ जना सहभागी भएको तालिमको सहजीकरण पेम्बा शेर्पा र अर्जुन श्रेष्ठले गर्नुभएको स्वर्णिम सारथी संस्थाका अध्यक्ष माया शेर्पाले जानकारी दिनुभयो । सामाजिक काममा सक्रिय स्वर्णिम सारथीले महिलाहरुलाई ब्याडमिन्टन खेलमा अघि बढाउन तालिम आयोजना गरेको जनाएको छ । तालिम प्रभावकारी भएको सहभागीहरुले बताएका छन् ।
तालिमको अन्त्यमा सञ्चालन गरिएको खेलमा माया राई र मिङमारडोमा शेर्पा प्रथम, माया शेर्पा र प्रतिभा राई द्वितीय, मेमकुमारी राजभण्डारी र सबिना राई तथा गङ्गा राई र अनिता तामाङ तृतीय भएका छन् ।
प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः एक हजार पाँच सय, एक हजार, पाँच÷पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिएको छ । तालिमका सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको छ ।