ब्यूझाउँदै नेपाली पर्यटन : दुई समूहले गरे हिमाल आरोहण


सन्तोष राउत/सोलुखुम्बु । कोरोना कहरले थला परेको नेपालको हिमाली पर्यटन पछिल्लो समय ब्यूझाउने प्रयास हुन थालेको छ । यसै क्रममा पाँच सदस्सीय नेपाली टोलीले सोलुखुम्बुको आमादब्लम हिमालको सफल आरोहण गरेको छ । नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्दै विश्व शान्तिको कामना सहित पाँच जनाको आरोहण टोलीले आमादब्लम हिमालको सफल आरोहण गरेको हो ।

छ हजार ८१२ मिटर अग्लो हिमालको हिमालय गाइड्स नेपालबाट खुम्बु पासाङल्हामु गाउँपालिका–४ पाङ्बोचेका दोर्जीग्याल्जेन शेर्पा, दोलखाको विगु गाउँपालिका–५ गोङ्गारका सिद्धिबहादुर गुरुङ्ग र सङ्खुवासभाका पासाङदावा शेपाले उक्त हिमालको सफल आरोहण गर्नुभएको हो ।

सेभेन समिट ट्रेक्सबाट महाकुलुङ गाउँपालिका–२ मामेर्कुका ल्हाक्पादेण्डी शेर्पा र सोलुदूधकुण्ड नगरपालिका–८ का गेसमान तामाङ पनि सोही समूहबाट आरोहणमा सहभागी हुनुभएको थियो । त्यस अवसरमा आमादब्लम हिमालको शिखरमा मेडिसियन बुद्ध अर्थात साङ्गे मेन्ल्हाको तस्बिर राखेर विश्व शान्तिका लागि मन्त्रजप समेत गरिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेकाले सकारात्मक सन्देश दिने उद्देश्यले हिमाल आरोहण गरिएको आमादब्लम युवा क्लब पाङबोचेका अध्यक्ष कुङ्गाग्याजु शेर्पाले जानकारी दिनुभयो ।

त्यस्तै, कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाले सोलुखुम्बुको छ हजार ८१२ मिटर उचाइको आमादब्लम हिमालको शिखर चुम्नुभएको छ ।

राजकुमार शेख मोहमदसहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जनाको टोलीले बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको चुचुरोमा पुगेको आरोहण व्यस्थापक हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो ।

विश्वको सुन्दर तर आरोहणका लागि कठिन मानिने आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहितको टोली करिब दुई साताअघि काठमाडौँबाट लुक्ला हँदै आधारशिविर प्रस्थान गरेको थियो । आरोहणको लागि डोरी फिक्सिङको काम सकिएपछि मौसम समेत अनुकुल भएकाले छिटै आरोहण सफल भएको हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक पौडेलले बताउनभयो । आरोहण टाली काठमाडौँ फर्किने उहाँको भनाइ छ ।

टोलीमा राजकुमार अब्दुल्लासहित अमेरीकन, क्यानेडियन गरी छ जना विदेसी र ११ जना नेपाली गरी १६ जना रहेका छन् । जसमा छ जना विदेसी र ११ जना नेपाली गरी १४ जनाले हिमाल आरोहण गरेका हुन् । अन्य हिमाल भन्दा कमै आरोहण हुने आमादब्लम हिमालमा पहिलो पटक सन् १९६१ मा आरोहण भएको थियो ।

यस अघि बहराइनको राजकुमार र तीन जना नेपालीको टाली गरी दुई समूहले छ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार