थुलुङ दूधकोशीमा वहुप्राविधिक शिक्षालयको मुख्य मन्त्री राईद्वारा उद्घाटन


सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी वहुप्राविधिक शिक्षालय ईन्जिनियरिङ विभागको उद्घाटन गरिएको छ । चालु शैक्षिक सत्रदेखि सञ्चालनमा आएको बहुप्राविधिक शिक्षालयको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको हो ।

शिक्षालय परिसरमा सम्पन्न कार्यक्रममा मुख्यमन्त्री राईले प्राविधिक शिक्षा आजको आवश्यकता भएको औँल्याउनुभयो । व्यवहारमुखी शिक्षा नहुँदा लाखौँ युवा वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता रहेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का पाँच जिल्लामा बहुप्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको जानकारी दिनुभयो । जसअन्तरगत थुलुङ दूधकोशी गाउँपालिकामा स्थापना गरिएको शिक्षालय पहिलो रहेको उहाँको भनाइ छ ।

यस अवसरमा प्रतिनिधि सभा सदस्य हेमकुमार राईले जिल्लाको भौतिक तथा मानव संसाधन दुवै विकासलाई प्राथमिकता दिएर अघि बढेको बताउनुभयो । प्रदेश १ का आर्थिक मामिला मन्त्री ईन्द्र आङबोले थुलुङ दूधकोशी गाउँपालिकाको विकासको प्रशंसा गर्दै शिक्षा क्षेत्रलाई पनि प्राथमिकता दिएको बताउनुभयो । सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक पु¥याउने योजना रहेको उहाँको भनाइ छ ।

त्यस्तै, नेकपा प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले अघिल्ला सरकारहरुले गर्न नसकेको विकास नेकपाको हालको सरकारले गरिरहेको जिकिर गर्नुभयो । अर्का प्रदेश सांसद उत्तमकुमार बस्नेतले जिल्लाको विकासमा सडक बाधक बनेको बताउँदै अधिकांश स्थानमा प्राथमिकता दिएर योजना सञ्चालन गरिएपनि अपुरै रहेकाले सडकको स्तरोन्नती गर्नका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

गाउँपालिकामा दक्ष जनशक्ति उत्पादन गर्नका लागि बहुप्राविधिक शिक्षालयले महत्व राख्ने गाउँपालिका अध्यक्ष असिम राईले.बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक विरकुमार राई, नेकपा जिल्ला अध्यक्ष मानविर राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती, सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई, नेकपा प्रदेश सभा ‘ख’ ईन्चार्ज आङङिमा लामालगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार