सगरमाथाको फेदीमा नेकपाको वडाध्यक्षका उम्मेद्वार सहित डेढ सय नेकपा कार्यकर्ता काङ्ग्रेसमा प्रवेश


सोलुखुम्बु/सगरमाथाको फेदी सोलखुुम्बुको लुक्लामा सत्तारुढ दल नेकपाका वडाध्यक्षका उम्मेद्वार सहित डेढ सय भन्दा बढी नेकपाका नेता कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

खुम्बु पासाङल्हामू गाउँपालिका–२ मा आयोजित अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रममा तत्कालीन नेकपा माओवादीका प्रत्यासी उम्मेद्वार ल्हाक्पाग्याल्जेन शेर्पा सहित ङिमादोर्जी शेर्पा, आङनुरु शेर्पा लगायत १५२ जना काङ्ग्रेस प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुलाई नेपाली काँग्रेसका आदिवासी जनजाति विभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पा र खुम्बु पासाङल्हामु गाउँ कार्यसमितिका सभापति पेम्बाछिरिङ शेर्पाले स्वागत गर्नुभएको थियो ।

नवप्रवेशीलाई स्वागत गर्दै आङछिरिङ शेर्पाले आगामी चुनावमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दावी गर्नुभयो । लोकतन्त्र प्राप्तिदेखि अहिलेसम्म पनि विकासमा अग्रणी भूमिका निर्वाह गरेकाले देश समृद्ध बनाउन काँग्रेस नै चाहिने शेर्पाको धारणा छ । सभापति पेम्बाछिरिङ शेर्पाले नेकपाको गलत रवैयाका कारण देश पछि परेको आरोप लगाउनुुभयो ।

कार्यक्रममा २ र ३ नम्बर वडाका नेकपा सम्बद्ध कार्यकर्ताहरु काङ्ग्रेस प्रवेश गरेको गाउँपालिकाका पार्टी प्रवक्ता पासाङ शेर्पाले जानकारी दिनुभयो । त्यस अवसरमा वडा नं. २ मा ङिमादोर्जी शेर्पा र वडा नं. ३ मा आङछिरिङ शेर्पाको संयोजकत्वमा १३–१३ सदस्यीय तरुणदल गठन गरिएको प्रवक्ता शेर्पाले बताउनुभयो ।

खुम्बुको लुक्लाबाट सुरु भएको कार्यक्रमलाई क्रमशः गाउँपालिकाका सबै ठाँउमा सञ्चालन गरिने कार्यक्रम रहेको जनाइएको छ । कार्यक्रममा नेताहरु चुङ्बा शेर्पा, प्रेम थापामगर, लाक्पानुरु शेर्पा, ङिमतेन्जिङ शेर्पा लगायत पार्टीका कार्यकर्ताहरुको उपस्थिती रहेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार