सोलुखुम्बु । सोलुखुम्बुको एकै गाउँमा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । खुम्बु पासाङल्हामू गाउँपालिका–१ को खरिखोलाका एक स्वास्थ्यकर्मी सहित छ जनामा सङ्क्रमण पुष्टी भएकोे खरिखोला स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य तिलक मगरले जानकारी दिनुभयो ।
शङ्कास्पद लक्षण देखिएपछि मङ्सिर ११ गते ३१ जनाको स्वाब पिसिआर परीक्षणका लागि काठमाण्डौ पठाइएकोमा तीन महिला र तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको उहाले बताउनुभयो । सङ्क्रमित सबै स्थानीय रहेका छन् ।
जिल्लाको तल्लो क्षेत्रबाट खुम्बु क्षेत्र प्रवेश गर्ने नाका भएकाले मानिसको आवतजावत बढी हुने हुँदा बाहिरबाट आएका व्यक्तिबाट सरेको हुन सक्ने अनुमान गरिएको छ । एकै चोटी गाउँमा ज्वरो लगायतका लक्षण देखिएपछि गरिएको परीक्षणबाट कोरोना पोजेटिभ आउँदा स्थानीय त्रसित बनेका छन् ।
छ जनामा कोेरोना पोजेटिभ देखिएपछि वडामा विशेष सर्तकता अपनाइएको छ । त्यस क्षेत्रमा दुई हप्ताका लागि विद्यालय, स्वास्थ्य चौकी, बैङ्क लगायतका सरकारी तथा गैर सरकारी कार्यालयहरु बन्द गरिएको छ भने भीडभाड, भेला, विवाह भोज, तालिम, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम गर्न प्रतिबन्द लगाइएको वडा अध्यक्ष ङिमादोर्जी शेर्पाले सूचना जारी गरी जानकारी दिनुभयो ।
त्यस्तै, थुलुङ दूधकोशी गाउँपालिका–४ जुबु ज्यामिरेका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कात्तिक ३० गते कोरोना सङ्क्रमणका कारण एक जना ७५ बर्षीय वृद्धको सम्पर्क रहेका २८ जनाको कन्ट्याक्ट् ट्रेसिङ गर्दा तीन जनामा पोजेटिभ रिपोर्ट आएको वडाअध्यक्ष नातीकाजी गुरुङले जानकारी दिनुभयो ।