पर्यटन प्रबद्र्धनका लागि चर्चित गायक लामाद्वयले गरे सोलुखुम्बु भ्रमण


सन्तोष राउत/सोलुखुम्बु। कोरोना कहरका कारण ठप्प भएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन चर्चित गायकद्वय राजु लामा र छेवाङ लामाले विश्वको सर्वोच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुको तल्लो क्षेत्रमा एक् हप्ता विभिन्न महत्वपूर्ण पर्यटकीयस्थलहरुको भ्रमण गरेका छन् ।

हिमाल आरोहणका लागि खुम्बु क्षेत्रनै जानु पर्ने भए पनि हिमालहरुको दृश्यावलोकन तल्लो सोलुका उच्च पहाडहरुबाट सहज रुपमा गर्न सकिने भएकाले युवा पर्यटन व्यवसायी एवम् नोम्याड नेपाल ट्रेक्स एण्ड एक्स्पिडिसनका प्रबन्ध निर्देशक कर्मा शेर्पाको समन्वयमा नेपाली गायकहरुले एक हप्ते भ्रमण गर्नुभएको हो ।

आन्तरिक पर्यटकको ध्यान खिच्दै आवागमन बढाउन तीन दशक भन्दा बढी समय गायन क्षेत्रमा सक्रिय गायक राजु लामा र पछिल्लो दशक युवाहरुको मन जित्न सफल गायक छेवाङ लामाले तल्लो सोलुका आकर्षक पर्यटकीय गन्तव्यहरु पत्ताले, रातनाङ्गेडाँडा, क्याम्जे, टाक्सिन्दु, जुनवेशी, पिके, च्याल्सालगायतका ठाउँको भ्रमण गरी वृत्तचित्र छायाँकन गर्नुभएको छ ।

यस क्षेत्रको पर्यटकीय सम्पदाहरुको वृत्तचित्रमार्फत प्रचारप्रसार गरी आन्तरिक पर्यटकको ध्यान तान्न सकिने नोम्याड नेपाल ट्रेक्स एण्ड एक्स्पिडिसनका प्रबन्ध निर्देशक कर्मा शेर्पाले बताउनुभयो । कारोना कहरका बिचमा विदेशी पर्यटक भित्र्याउने सम्भावना न्यून रहेकाले आन्तरिक पर्यटनलाई नै बढवा दिनुपर्ने र चर्चित गायकहरुको फलोअर धेरै भएकाले पनि प्रबद्र्धनमा टेवा पुग्ने व्यवसायी शेर्पाको दाबी छ ।

अहिले साँगितिक यात्राको सम्भावना नरहेकाले आफ्नै देशभित्र घुमेर ग्रामिण परिवेशको पहिचान गर्दै देस विदेसमा प्रचारप्रसारका लागि भ्रमणमा निस्किएको गायक राजु लामाले बताउनुभयो । सबै युवाहरुलाई पहिला आफ्नो देश र माटोलाई चिन्न र चिनाउन उहाँको सुझाव छ ।
त्यस्तै, अर्का गायक छेवाङ लामाले तल्लो सोलुमा पनि प्रशस्त भ्रमणका लागि लायक पर्यटकीयस्थलहरु रहेकाले धेरै रमाएको बताउनुभयो । ती स्थानहरुलाई वृत्तचित्रमार्फत चिनाउने उहाँको भनाइ छ ।

यस अवसरमा पर्यटन प्रबद्र्धनको अभियानमा सोलु भ्रमणमा आउनुभएका गायकलाई स्थानीयले स्वागत गरेका छन् । सोलुखुम्बुको शिक्षा, स्वास्थ्य र पर्यटनका क्षेत्रमा काम गरिरहेको सामाजिक संस्था द स्मल वल्र्डको सद्भावना दुत समेत रहेका गायकद्वयलाई सोलुदूधकुण्ड नगरपालिका–१ का महिला समूहले विशेष कार्यमे आयोजना गरी स्वागत गरेका छन् ।

त्यस क्रममा टाक्सिन्दु गुम्बामा रहेको वृद्धाश्रमका सबै वृद्धाहरुलाई राहात स्वरुप खाद्यान्न वितरण गरिएको छ । नेपाली काङ्ग्रेस प्रदेश ‘ख’ सभापति तथा काँग्रेसको वन तथा वातावरण विभागका सदस्य कर्मा शेर्पाको नेतृत्व तथा द स्मल वल्र्डका संस्थापक सोनामडोका शेर्पा, गायकद्वय राजु लामा र छेवाङ लामाको उपस्थितिमा कोरोना प्रभावमा परेका वृद्धाहरुलाई खाद्यान्न सहयोग गरिएको हो । राहात पाएपछि बृद्धाश्रममा बस्ने वृद्धाले खुशी भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार