चिवाङ आधारभूत विद्यालयमा तयार भयो खेल मैदान, मेयर शेर्पाद्वारा उद्घाटन


सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–४ स्थित चिवाङ आधारभूत विद्यालयमा तयार भएको खेल मैदान मेयर नाम्गेलजाङ्बु शेर्पाद्वारा उद्घाटन गरिएको छ । विदेशी दाताको सहयोग तथा स्थानीय समेत रहनुभएका ईबिसि ट्रेक्स एण्ड एक्सपिडिसन प्रा.लि.का प्रमुख ठिले लामाको सहजीकरणमा निर्माण गरिएको खेल मैदान एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो ।
उद्घाटनका क्रममा मेयर शेर्पाले विद्यालयमा खेलमैदान निर्माण गरेर सहयोग गर्नेलाई धन्यवाद दिनुभयो । ७५३ वटै स्थानीय तहमध्ये सोलुदूधकुण्ड नगरपालिकालाई विकासमा नमुना बनाइ रहेको दाबी गर्दै उहाँले नगरपालिकामा स्वास्थ्य, शिक्षा, सञ्चार तथा सडकको विकास द्रुत गतिमा भईरहेको बताउनुभयो । उहाँले सबै वडाका सबै टोलमा सडक पुगेको जानकारी गराउनुभयो । भाषण र प्रचार भन्दा कामलाई बढी जोड दिएको बताउने मेयर शेर्पाले नगरपालिका शुसासन र पारदर्शितामा समेत अघि रहेको स्पष्ट पार्नुभयो ।
१५ लाख रुपियाँको लागतमा खेलकुद मैदान सहित विद्यालय घेराबार, शौचालय तथा कम्युटर कक्षा मर्मतका साथै विद्यालयसम्म जाने बाटो निर्माण गरिएको ठिले लामाको भनाइ छ । विद्यालयमा सहज शिक्षण सिकाईका क्रियाकलाप सञ्चालन गर्नका लागि आफुले सहयोग गरेको लामाले बताउनुभयो ।
कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिकाका प्रवक्ता तथा वडा सदस्य शारदामाया तामाङले नागरिकको अपेक्षा अनुसार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । विद्यालयकी शिक्षिका गीता कार्की बस्नेतले विदेशी दाताको सहयोगमा विद्यालयको भौतिक र शैक्षिक रुपमा विकास हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
सोही अवसरमा विद्यालयलाई एक थान कम्युटर र प्रिन्टर उपलब्ध गराइएको छ । शैक्षिक गतिविधिलाई थप प्रविधियुक्त बनाउनका लागि युटिई लेबिके जर्मनीका कोअर्डिनेटर समेत रहनुभएका ठिले लामाको सहजीकरणमा कम्युटर, प्रिन्टर र साउण्ड सिस्सटम समेत एक÷एक थान विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
त्यस्तै, विद्यालयमा अध्ययनरत ३२ विद्यार्थीलाई ट्रयाकसुट सेट समेत वितरण गरिएको छ । जाडोको समयमा विद्यार्थीलाई चिसोबाट बचाउनका लागि ट्रयाक सुट सेट, मोजा वितरण गरिएको हो । कार्यक्रममा विद्यालयलाई भौतिक तथा शैक्षिक रुपमा योगदान पु¥याउने समाजसेवी तथा जग्गादातालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा वि.व्य.स. अध्यक्ष कर्मा लामा शेर्पा, प्रध्यानाध्यापक सीता राई, चिवाङ गुम्बाका प्रमुख ङवाङशेम्पेन शेर्पा लामालगायतको उपस्थिती रहेको थियो ।
यसै क्रममा त्यस क्षेत्रको जम्बुकका ३३ घरलाई राहत वितरण गरिएको छ । हिमायक ट्रेकिङ्ग प्रा.लि. फ्रान्सका पासाङ शेर्पाको आर्थिक सहयोगमा जम्बुकका स्थानीय र चिवाङ गुम्बालाई चामल, नुन र तेल वितरण गरिएको हो ।
कोरोना महामारीका कारण प्रभावित बनेको परिवारलाई नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा र नगरपालिकाका प्रवक्ता सारदामाया तामाङले हस्तान्तरण गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार