सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ्ग दूधकोशी तथा साविक जुबु गविसका नेपाली काङ्ग्रेसका तत्कालीन गाउँ कार्य समितिका सभापति तेजबहादुर बस्नेत पुनः नेपाली काङ्ग्रेसमा सक्रिय बन्ने हुनुभएको छ।
गएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षको उम्मेदवार समेत रहनुभएका बस्नेतले केही समय अघि क्रियाशील सदस्यबाट समेत राजिनामा दिंदै स्वतन्त्र जीवन बिताउने बताउनुभएको थियो।
पार्टीभित्र विभिन्न गुटका कारण आफूलार्ई असहयोग गरेको आरोप लगाउँदै उहाँले राजीनामा दिएर निष्क्रिय बनेपछि कांग्रेस सोलुखुम्बुका नेताहरूको पहलमा उहाँ सक्रिय बन्ने हुनुभएको हो।
यसमा जनजाति विभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पा, तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा, सोलुखुम्बु काठमाडौँ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत लगायतका नेताहरुको पहलमा बस्नेतलाई सक्रिय बनाइएको बताइएको छ।
बस्नेतले मुलुकमा नेपाली काङ्ग्रेसको विकल्प नभएको र केही व्यक्तिको असहयोगका कारण पार्टी छोड्नु भन्दा त्यही बसेर संघर्ष गर्दै कांग्रेसलाई सबल बनाउन पुनः सक्रिय रहने बताउनुभयो।