सोलुखुम्बु । प्रमुख प्रतिपक्ष दल नेपाली काँगेसले सोलुखुम्बमा शक्ति प्रदर्शन गरेको छ । नेपाली काँग्रेसले देशभर एक साथ प्रदर्शन गर्ने निर्णयअनुसार सदरमुकाम सल्लेरीमा सयौँको संख्यामा भएको सरकार विरुद्धको प्रदर्शनमा काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पुल उदघाटन गर्ने क्रममा अवरोध गरी प्रहरीले नियन्त्रणमा लिएपछि काँग्रेस सडकमा ओर्लिने अवस्था बनेको हो । प्रमुख प्रतिपक्षी काँग्रेसमाथि संसद र सडक दुवैमा निरिह रुपमा प्रस्तुत भएको भन्दै आलोचना भइरहँदा उसले विरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा नेपाली काँगेसका केन्दिय सदस्य बलबहादुर केसीको नेतृत्वमा जिल्लाभरीका कार्यकर्ताको उपस्थितिमा विरोध कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्वोधन गर्दै नेता केसीले नेकपाको सरकारकै कारण अहिले मुलुकमा नागरिक अधिकारमाथि हनन भएको र गाँउदेखि शहरसम्म भ्रष्टचार बढेको आरोप लगाउनुभयो ।
कार्यक्रमलाई सोलुदूधकुण्ड नगरपालिका मेयर नामगेलजाङ्बु शेर्पा, आदिवासी जनजाती विभागका केन्द्रिय सदस्य आङछिरिङ शेर्पा, नेपाली काँग्रेस सोलुखुम्बुका सहसचिव कुशराज राई, सोलु काठमाडौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत, नेताहरु प्रकाशसिं कार्की, भलाकाजी कुलुङ, सुर्य कुलुङ, शुभराम बस्नेत, नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा, नेपाल महिला संघका अध्यक्ष छुण्डील्हमु शेर्पा, नेपाल दलित संघका केन्द्रिय सदस्य धर्म नेपाली लगायतका नेताहरूको उपस्थिती रहेको थियो ।
सरकारको सर्वसत्तावादविरुद्ध व्यापक जनमत प्रकट गरेकोमा देउवाद्धारा धन्यवाद
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार बिरुद्ध आह्वान गरिएको देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमत प्रकट गरेको बताएका छन्। एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाट नै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको देउवाले एक विज्ञप्ती निकाली भनेका छन्।
देउवाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको छ । यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु । प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु । प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पुर्याउनु हुने देशभरिका सबै पत्रकार मित्रहरूमा धन्यवाद व्यक्त गर्दछु।’