जिल्लामै पहिलो पटक किवी कोल्ड स्टोर


सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुमा पहिलो पटक किवी भण्डारणका लागि चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण गरिएको छ । पछिल्लो समय जिल्लामा किवी खेती बढेसँगै उत्पादित किवी फलले समयमा बजार नपाईरहेका बेला नेचासल्यान गाउँपालिकाले केन्द्रको स्थापना गरेको हो ।

गाउँपालिकामा किवी कृषकहरुको समस्यालाई मध्यनजर गरी वडा नम्बर १ सल्यानमा छ टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिनुभयो । बजार नपाएको समयमा भण्डारण गरी बेमौसममा कृषकहरुले उत्पादनको मूल्य पाउन् भन्ने उद्देश्यले आधुनिक प्रविधिको विद्युतीय कोल्ड स्टोर निर्माण गरेको अध्यक्ष बाँस्तोलाले बताउनुभयो ।

कृषिको आधुनीककरणबाट मात्रै ग्रामिण जीवनको सम्बृद्धि सम्भव भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँपालिका अघि बढिरहेको उहाँको भनाइ छ । कुलबोट नेपालको प्राविधिक सहयोगमा करिब सवा तीन लाख रुपियाँको लागतमा निर्माण सम्पन्न कोल्ड स्टोरमा गाउँपालिकाभरीका कृषकहरुले उत्पादन गरेको किवी भण्डारण गरिएको छ ।

उत्पादन प्रत्येक वर्ष बढिरहेका बेला स्थानीयस्तरमै भण्डारण केन्द्र बनेपछि कृषकलाई बजार नपाएर आत्तिनु पर्ने अवस्था कम भएको वडा अध्यक्ष रमेशकुमार राईले बताउनुभयो ।

विगत वर्षदेखि किवी उत्पादन तथा विक्री गर्दै आउनुभएका कृषक नानिबाबु कोईरालाले गाउँपालिकाले कृषकको समस्यामा सहयोगी भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो । चिस्यान केन्द्र बनाएपछि उत्पादनले मुल्य पाउने सुनश्चित भएको उहाँको भनाइ छ ।

यस बर्ष नेचासल्यान गाउँपालिकामा चार टन भन्दा बढी किवी उत्पादन भएको छ । पछिल्लो पाँच बर्ष यता किवी खेती तिव्र गतिमा विस्तार भइरहेको छ भने धमाधम उत्पादन समेत बढ्न थालेको छ । यो बर्ष कोभिड १९ को प्रभावका कारण पनि किवीले बजार पाउन नसकेको कृषकको गुनासो छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार