सोलुखुम्बु, पुस ११ गते । झण्डै एक वर्षदेखि आखाँको ज्योति गुमाउनुभएकी ओखलढुङ्गाकी ३२ वर्षिया कुसुम रम्तेलले हर्षका आशु झार्दै भन्नुभयो, मैले संसार देख्न सक्छु भन्ने कल्पना पनि गरेकी थिइन, तर आँखाको अप्रेशन गर्ने वित्तिकै पहिलाको जस्तै आँखा देख्ने भएकी छु । शल्यक्रिया सक्ने साथ उहाँले प्रष्ट आँखा देखेपछि खुशीले आँशु झार्दै चिकित्सकलाई खादा लगाईदिनुभयो ।
एउटा आँखा पूरै नदेख्ने र एउटा सामान्य मात्र देख्ने रम्तेलको दुवै आँखाको सफल शल्यक्रिया भएपछि उहाँले तत्काल आँखा दुख्नुभएको हो । एकै दिन दुवै आँखाको सफल शल्यक्रिया विना सुई झोल औषधीको प्रयोग गरेर गरिएको शल्यक्रिया विश्वकै पहिलो घटना भएको शिविरका डाक्टर बेन लिम्बुले दाबी गर्नुभयो । सामान्यतया एक दिनमा एउटा मात्र आँखाको शल्यक्रिया गर्ने उहाँको भनाइ छ ।
तिलगंगा आँखा प्रतिष्ठान काठ्माण्डौले सामुदायिक आँखा केन्द्र ओखलढुङ्गामा गरेको दुई दिने आँखा शिविरमा विभिन्न प्रकृतिका आँखाको समस्या भएका एक सय जनाको शल्यक्रिया गरिएको सामूदायिक आँखा केन्द्र फाप्लुका इन्चार्ज पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो । बुधबार र बिहीबार सञ्चालन भएको दुई दिने शिविरमा विशेषज्ञ चिकित्सकहरुबाट मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको हो ।
सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाका विरामीको उपचार गरिएको शिविरमा ४५ जना महिला र ६५ जना पुरुषको शल्यक्रिया गरिएको इन्चार्ज बस्नेतले बताउनुभयो । लामो समयसम्म मोतियाबिन्दुको समस्याका कारण आँखा देख्न नसक्ने भएका बिरामीहरुको सफल शल्यक्रियापछि विरामीहरुले पुनर्जिवन पाएको भन्दै खुशी भएका छन् ।