टाक्सिन्दुमा खाद्यान्न वितरण


सोलुखुम्बु । हिमालयन तारा अर्गनाइजेसन सोलुखुम्बुको आयोजना तथा तारा फाउण्डेसन अमेरिका र एलेक्सलो च्यारिटेबल फाउण्डेसन अमेरिकाको सहयोगमा सोलुदूधकुण्ड नगरपालिका–१ को टाक्सिन्दुमा खाद्यान्न वितरण गरिएको छ । स्थानीय ५५२ घरधुरीलाई खाद्यान्न सहयोग गरेको तारा फउण्डेसनका सचिव सुरेश खड्काले जानकारी दिनुभयो ।

यही पुस १६ देखि १८ गतेसम्म वडाभित्रका बृद्धबृद्धा, बेरोजगार, दलित, महिलाहरुलाई प्राथमिकतामा राखेर राहत वितरण गरिएको उहाँले बताउनुभयो । राहतमा प्रतिघर चामल एक बोरा, दाल एक केजी, नुन दुई केजी, पिठो नौ केजी, तेल एक लिटर वितरण गरिएको हो ।

वडा नं. १ का कार्यबाहक अध्यक्ष उत्रमान राईले खाद्यान्न वितरण कार्यक्रमको उद्घाटन गर्दै कोभिड १९ का कारण तथा खाद्यान्न उत्पादनमा समेत कमी आएको यस अवस्थामा यस्ता सहयोगले सर्वसाधारणलाई सहज हुने बताउनुभयो ।

संस्थाका अध्यक्ष छोङ्बा शेर्पाले सहयोगलाई धन्यवाद दिँदै आगामी दिनमा नगरक्षेत्रका अन्य वडामा समेत खाद्यान्न सहयोग गर्ने बताउनुभयो । कार्यक्रमा संस्थाका सचिव सुरेश खड्का, कोषाध्यक्ष फुगेल्जेन शेर्पा, गुम्बाका लामा, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार