निर्वाचनताका गरिएका प्रतिबद्धताहरु अधिकतम् पुरा भएका छन् : अध्यक्ष, बास्तोला


विश्वको सर्वोच्च शिखर सगरमाथाले चिनिएको दुर्गम हिमाली जिल्ला सोलुखुम्बु भूगोलका हिसाबले विविधता रहेको जिल्ला हो । जसमा जिल्लाको तल्लो क्षेत्र अर्थात सोलुखुम्बुको दक्षिण पुर्वमा अवस्थित नेचासल्यान गाउँपालिका कृषिका लागि समेत जिल्लाकै उर्वर क्षेत्र मानिन्छ । खोटाङ र ओखलढुङ्गाको सीमानामा रहेको यस गाउँपालिका सदरमुकामबाट करिब १० कोष टाढा पर्दछ । साविकका नेचाबेतघारी, नेचाबतासे र सल्यान गाविसलाई समेटेर बनाइएको यो गाउँपालिका कृषि उत्पादन दृष्टिकोणले महत्वपूर्ण गाउँपालिका मानिन्छ । गाउँपालिकाका विविध सन्दर्भमा गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलासँग सन्तोष राउतले गर्नुभएको कुराकानीको सम्पादित अंश ः

तपाई निर्वाचित भएको करिब तीन बर्ष बित्यो, यस अवधिमा गाउँपालिकाले के कति विकासका कार्यहरु ग¥यो?

हामी निर्वाचित भएको चौथो बर्षको योजना कार्यान्वयनमा छौँ । हामीले गाउँपालिकालाई विकसित र समृद्ध बनाउनका लागि समग्र पक्षमा मिहिन ढङ्गले योजना बनाएर लागेका छौँ । स्थानीय आवश्यकता तथा जनचाहनालाई समेट्दै सोलुखुम्बु जिल्ला सदरमुकामदेखि गाउँपालिका बिच र ओखलढुङ्गादेखि गाउँपालिकाको बिचको आवागमन सहज बनाउन सडक सञ्जाल निर्माण र स्तरोन्नतीलाई पहिलो प्राथमिकतामा राखेर काम ग¥यौँ । त्यसैगरी वडा केन्द्र र गाउँपालिका हुँदै सबै गाउँ बस्तीहरुमा सडक सञ्जाल निर्माण सम्पन्न भै सकेका छन् । उज्यालो नेचासल्यान गाउँपालिका निर्माणका लागि तुइन्टार लघुजलविद्युत आयोजना सम्पन्न भै सकेको छ । त्रिबेणि लघुजल विद्युत आयोजनालाई ब्यवस्थित बनाएका छाँैं ।

विद्युत प्राधिकरणको ग्रामिण विद्युतीकरण योजना अन्तर्गत पनि बिद्युत लाइन बिस्तार गर्ने कार्य भइरहेको छ र पर्यटन क्षेत्रको गुरु योजना निर्माण र यसको कार्यान्वयनको प्रारम्भ भएको छ । शिक्षालाई सकेसम्म सहज, सुलभ र व्यवस्थित बनाउन अहिलेको समयअनुसार आवश्यक व्यवस्थापन गरेका छौँ । विद्यालय भवन निर्माणतर्फ पनि उल्लेख्य प्रगति भएको छ । आधारभूत स्वास्थ्य स्थानी यतहको अधिकार क्षेत्रभित्र भएकाले यसकालागि एक वडा एक स्वास्थ्य संस्था निर्माण र व्यवस्थापनमा काम गरेका छौँ । खानेपानीको सहजताका लागि खहरे धर्मशाला–फुर्के र दाम्कुखोला–सल्यान–केउरेनी जस्ता ठूला खानेपानी आयोजना सञ्चालन छन् भने अन्य ससाना आयोजना र लिफ्टिङ प्रबिधिबाट समेत खानेपानीको आपूर्ति गर्ने क्रममा रहेका छौँ ।

सोलुखुम्बु जिल्लाको दक्षिणि भेगमा अवस्थित यो गाउँपालिका नगदेबाली तथा खाद्यान्न उत्पादनमा अग्रणी स्थानमा रहेको छ । यसैलाई मध्यनजर गर्दै कृषि क्षेत्रको समूचित विकासका निम्ति अत्यावश्यक सिंचाई क्षेत्रको विकास स्रोतलाई मध्यनजर राख्दै अगाडी बढाइएको छ । पानीका मूहान नभएको तथा सुख्खा भएको क्षेत्रहरुमा प्लाष्टिक पोखरी निर्माण, पुराना सुकेका पोखरीहरुको पुनरभरण योजनासमेत सञ्चालन गरिरहेका छौँ । सडक पुलहरुमा ठाडो खोला तथा खहरे खोलामा पक्की पुलको निर्माण सम्पन्न भैसकेको छ भने सोलुखोला चुर्पुघाट र खहरे खोला नालाघाटमा केही दिनमा पक्की पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । खेलकुदतर्फको विकासकालागि एक वडा एक खेलकुद पूर्वाधार निर्माण गर्दै खेलकुद सञ्चालन गाउँपालिकाको पहिचानका रुपमा अगाडी बढाउँदै बार्षिक रुपमा गाउँपालिकास्तरीय खेलकुद कार्यक्रमहरु सँचालन गरिँदै आएको छ । संस्कृति संरक्षणतर्फ किरात राईहरुको मुन्धुम लेखन, एक वडा एक आदिवासी संग्रहालय भवन निर्माणलगायतका कार्यहरु शुरु गरिएको छ । जेष्ठ नागरिक, पिछडिएका जातीहरु, अपाङ्गता भएका व्याक्तिहरुको सुरक्षा, रोजगारी तथा उन्नतीमा पनि क्रियाशिल रहेका छौँ । कृषि तथा पशुपालनको क्षेत्र मार्फत रोजगारी श्रृजना गर्ने अभियानमा निरन्तर यो तीन बर्ष व्यतित गरेका छौँ । जनताको नजिकको सरकारको अनुभूति हुने गरी काम गरिरहेका छौँ ।

स्थानीय तहको पहिलो जनप्रतिनिधिको रुपमा काम गर्दा गाउँपालिकाको सञ्चालनमा के कस्ता समस्याहरु आए ? यसको सहजीकरण कसरी गर्नुभयो ?

हामी निर्वाचित हुँदै गर्दा कार्यालय भवन, अत्यावश्यक फर्निचर समेत उपलब्ध थिएनन् । कर्मचारीहरुको अभाव, सरकार सञ्चालन संबिधानको व्यवस्था बमोजिम गर्नुपर्ने भएकोले ऐन, नियम, कार्यविधि, निर्देशिकाहरुको निर्माण त्यति सहज थिएन । यसलाई क्रमशः पुरा गर्दै लग्यौँ । अहिले नेचासल्यान गाउँपालिकाबाट ६० वटा भन्दा बढी कानूनहरु निर्माण गरी स्विकृत गरिसकिएको छ । जनताका असीमित अपेक्षा, स्रोत साधनको कमी, सर्बदलीय संयन्त्रले बिगारेको उपभोक्तावादी भागवण्डा यी मुख्य समस्याका रुपमा रहेका थिए ।

तपाईको गाउँपालिकाबाट जनताले अनुभूति गर्नसक्ने काम के के भए ?

हाम्रो गाउपालिकाबाट भई रहेको विकास निर्माण र सेवा प्रवाह स्थानीय जनताको माग र आश्यकता अनुरुपनै सञ्चालन भएको हुँदा प्रत्येक विकासका कार्यहरुबाट गाउँपालिकाबासीहरुले सकारात्मक सन्तुष्टिको अनुभुति गरेका छन् भन्ने विश्वास लागेको छ । हामीलाई अप्ठ्यारो पर्दा सरकार उपस्थित रहन्छ भन्ने जन अपेक्षालाई पूरा गर्न तल्लिन छौँ । सडक सञ्जाल निर्माण, ग्रामिण विद्युतीकरण निर्माण÷विस्तार, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई तथा कृषि र पशुपालन क्षेत्रमा गरिएका कार्यहरु प्रशंसा गर्न योग्य रहेका छन् ।

गाउँपालिकाको मुख्य समस्या समाधानकालागि प्रदेश र संघीय सरकारबाट सहयोग र समन्वय कस्तो रह्यो ?

गाउँपालिकाबाट राखिएका योजना कार्यान्वयनका लागि सबै पक्ष प्रदेश, संघीय सरकार र माननीयज्यूहरुको समन्वय, सहयोग सकारात्मक रहेको र सम्बृद्ध र विकसित गाउँपालिका निर्माणमा हामी सबै सँगै छौँ ।

निर्वाचनको क्रममा जनतासँग गरिएका प्रतिबद्धता हालसम्म कति पूरा भए ?

गाउँपालिकाको नेतृत्व सम्हालेसँगै प्रतिबद्धताअनुसारनै योजना बनाएर अघि बढिरहेकाले निर्वाचनताका जनताका बिच गरिएका प्रतिबद्धताहरु अधिकतम् पुरा भएका छन् भने अझै कतिपय पूरा हुने क्रममा छन् । सडक कालोपत्रे गर्ने कार्यको चाँहि पूर्वाधार मात्र निर्माण हुने सम्भावना छ अन्य प्रतिबद्धता करिब पूरा भएका छन् ।

यस गाउँपालिकाका अल्पकालीन र दिर्घकालीन मुख्य प्राथमिकताहरु के के हुन् ? प्राथमिकतामा राख्नुपर्ने कारणहरु के हुन् ?

विकासका पूर्वाधारहरु सबै प्राथमिकतामा नै पर्ने भए । अब निर्माण सम्पन्न भएका लघुजल विद्युतहरुलाई राष्ट्रिय प्रशारणमा जोड्ने, सम्भव भएसम्म क्षमता बढाउने जसबाट गाउँपालिकाको नियमित आम्दानीको स्रोतको बृद्धि हुनेछ । दोस्रो, स्वास्थ्य क्षेत्रको सुधारका निम्ति सुविधा सम्पन्न अस्पतालको व्यवस्थाकानिम्ति संघीय÷प्रादेशिक सरकार र सरोकारवाला निकायसँगको समन्वयलाई अगाडी बढाइएको छ । अर्को महत्वपूर्ण कार्यमा गाउँपालिकालाई अर्गाानिक गाउँपालिका घोषणा र यसको कार्यान्वयन हो । जसले गर्दा हाम्रो उत्पादनले शहरी क्षेत्रमा बजार पाउने र रोजगारी सिर्जना हुनेछ । सडक कालोपत्रे गर्ने र समग्र शिक्षा क्षेत्रको विकासकालागि शिक्षालाई, विद्यालयलाई डिजिटलाईज गर्ने, विकसित प्रविधिसँग जोड्ने जस्ता कार्यहरु प्राथमिकताभित्र पर्दछन् ।

तपाईको कार्यकालभित्र नेचासल्यानगाउपालिकालाई कस्तो बनाउने योजनामा हुनुहुन्छ ?

धेरै सम्भावना बोकेको यस गाउँपालिकालाई हामी विकसित सम्बृद्ध र अरुले अनुकरण गर्न योग्य गाउँपालिका बनाउने अभियानमा छौँ । यसका लागि योजनाबद्ध तरिकाले काम गरिरहेका छौँ ।

कृषि उत्पादनकालागि जिल्लाकै उर्बर मानिने यस गाउँपालिकामा व्यवसायिक कृषि, कृषकका हितमा र उत्पादन बढाउन के के गर्दै हुनुहुन्छ ?

हाम्रो गाउँपालिका कृषि उत्पादनका हिसाबले उर्बर भूमि हो । समुद्री सतहदेखि ५५० मिटर होचो भूभागदेखि दुई हजार छ सय मिटरसम्मको उचाई विभिन्न किसिमको हावापानी र सोही अनुसारको उत्पादन हुन्छ । हामीले कृषि विज्ञ टोलीमार्फत गाउँपालिकाको सबै क्षेत्रको माटो परीक्षण र पानीको अवस्था समेत प्रष्ट हुने गरी र व्यवसायिक उत्पादनको सिफारिस सहित कृषि सम्भाव्यता तथा रणनीतिक योजना निर्माण गरेका छौँ । अहिले आलु र केरा पकेट क्षेत्र सँचालनमा रहेको छ । तरकारीको पकेट क्षेत्र पहिलेनै सञ्चालन गरी सकेका छौँ । चिया, अकबरे खुर्सानीको ब्लक सँचालनमा छ । त्यसैगरी किवि जोन, अदुवा बेसार जोन मार्फत धेरै कृषकहरु व्यवसायिकतातर्फ उन्मुख भएका छन् । लसुन खेती प्रबद्र्धन कार्यक्रम पनि यसै बर्षदेखि शुरु गरिएको छ । पशुपालनतर्फ बाख्रा पकेट कार्यक्रम यसै बर्ष शुरु गर्ने तयारीमा रहेका छौँ । अर्गाानिक गाउँपालिका घोषणा गर्दै उत्पादनको बजारीकरण, प्रशोधनकालागि पूर्वाधार निर्माणसँगै हामी अगाडी बढेका छौँ । हामी मासु, अण्डामा आत्मनिर्भर छौँ । कृषि तथा पशुपालन रोजगारीको महत्वपूर्ण क्षेत्र हो र कृषकहरुलाई प्रोत्साहित गर्दै हामी अगाडी बढ्छौँ । कृषकलाई सिकाउन नमूना कृषि फर्म (कृषिसिकाइ केन्द्र) हरु समेत सँचालन गरेका छौँ, यसले जैविक विषादी निर्माण जैविक मल निर्माण लगायत सिकाइको काम गर्दै आएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नियन्त्रण रोकथाम तथा व्यवस्थापनकालागि के के काम गर्नुभयो ?

कोरोना भाइरसको जोखिमबाट मुक्त रहन हामीले विभिन्न किसिमका कार्यहरु सम्पन्न ग¥यौँ । गाउँपालिकास्तरमा जनचेतना जगाउने, वडास्तरमा क्वारेन्टाइन पोष्टहरु निर्माण, सुरक्षा सामाग्रीहरुको व्यवस्था, हेल्थ डेस्क संचालन,बढि जोखिमकाअवस्थामागाउपालिकासिलगर्ने, सरोकारवाला संपूर्ण संयन्त्रको परिचालन, राहत वितरण, काठमाण्डौँमा बस्ने स्थानीय नागरिकहरुको उद्धार, नियमितऔषधी सेवन गर्नेहरुलाई औषधी वितरणको काम ग¥यौँ । जसको फलस्वरुप हालसम्म हाम्रो गाउँपालिकामा कोही पनि सङ्क्रमित भएको अवस्था छैन । हिजोको हाम्रो काम गराईबाट देखिएका सफल पक्षको निरन्तरता र कमीकमजोरीलाई केलाउँदै, हटाउँदैै नयाँ योजनाका साथ अगाडी बढ्नुपर्छ भन्ने लागेको छ ।

अन्त्यमा, हामी जनताको सेवामा जुटिराखेका छौँ, सिमित स्रोत र साधनको समूचित प्रयोग मार्फत पालिका विकसित र समृद्ध बन्छ भन्ने हाम्रो ठम्याई हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार