छेस्काम माविका निर्वतमान अध्यक्ष माथि आक्रमण, कार्यालय तोडफोड


सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको छेस्कामस्थित छेस्काम माध्यमिक विद्यालयका निर्वतमान अध्यक्ष विद्याराज कुलुङ माथि आक्रमण भएको छ ।

शनिबार सम्पन्न व्यवस्थापन समितिको निर्वाचनबाट विजयी समूहलाई स्वागतको तयारी गर्दै गर्दा विद्यालय परिसरभित्रै निर्वतमान अध्यक्ष कुलुङ माथि आक्रमण भएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्याराज शनिबार सम्पन्न विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा पनि उम्मेद्धार बन्नुभएको थियो । उहाँ किशोर कुलुङसँग करिब ३० मतले पराजित बनको विद्यालय स्रोतले जनाएको छ ।

विद्यालयका प्रध्यानाध्यापक गुरुप्रसाद राईकाअनुसार विजयी समूहलाई स्वागतको तयारी गरिरहेको बेला सोही कार्यक्रममा सहभागी बन्न प्रशासन कक्षमा रहेका विद्याराज माथि व्यवस्थापन समितिका विजयी समूह पक्षघरका यूवाहरुले आक्रमण गरेका हुन् ।

आक्रमणमा उत्रेका समूहले निर्वाचनमा हार व्यहोरेका विद्याराज पक्षघरले हानेको ढुङ्गाबाट एक महिला घाइते भएको भन्दै आरोप लगाएका थिए । सोही आक्रोशित भिडले निर्वतमान व्यवस्थापन समिति अध्यक्ष कुलुङलाई आक्रमण गरेको प्रध्यानाध्यापक राईले बताउनुभयो ।
गम्भिर घाइते विद्याराजको उपचारका लागि महाकुलुङ प्राथमिक अस्पताल बुङ ल्याइएको छ । व्यक्तिमाथि आक्रमण गरेका समूहले विद्यालयको कार्यलय तथा भौतिक संरचना समेत तोडफोड गरेका छन् ।

सिसि क्यामराको स्क्रिन फुटेको छ भने रेकर्डर आक्रमणकारी समूहले लगेको हुन सक्ने विद्यालय प्रशासनले जनाएको छ । डेल कम्पनीका तीन थान ल्यापटप हराएको छ भने ढोका र टेवलमा क्षति पुगेको छ । विद्यालयको छानामा समेत क्षति पुगेको विद्यालयले जनाएको छ ।
घटनाबारे प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलाई जानकारी गराइएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी र शशस्त्र प्रहरीको टोली परिचालित बनेको स्रोतले बताएको छ । घटना शनिबार राति करिब ९ देखि १० बजेको भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार