कुरीकुरी छेस्कामेली नेता !

 

भक्त राई

एकजना मेरा सरकारी कर्मचारी मित्रले मलाई सल्लेरीमा भने, ‘अचेल त मेरो घर छेस्काम हो भनेर म कसैलाई भन्दिन ।’
सामान्यतयाः सबै मानिसलाई आफू जन्मेको देश, गाउँ, समाज र परिवारप्रति गर्व महसुस हुन्छ । जस्तोसुकै भए पनि प्यारो हुनुपर्ने मेरा मित्रलाई आफ्नो गाउँप्रति त्यस्तो विकर्षण किन भएको हो ? उनलाई आफू छेस्कामबासी भएको भन्न किन संकोच भएको हो भन्नेबारेमा यति हरफ पढीरहँदा पक्कै तपाईंलाई पनि जिज्ञासा भइसकेको होला । त्यसको पृष्ठभूमिसहित आगामी गन्तव्यको विषयमा विल्कुल मेरा व्यक्तिगत विचार व्यक्त गर्ने कोसिस गर्दैछु ।

छेस्कामसँग सम्बन्धित अरु पनि केही प्रसंगहरू मलाई याद छ तर, मैले यस आलेखमा उल्लेख गर्न लागेको प्रसंग छेस्काम माविको विद्यालय व्यवस्थापन समितिको गठन र त्यसदिन भएको घटनाको हो । म त्यसघटनाको प्रत्यक्षदर्शी होइन तर, विभिन्न सन्चारमाध्यममा आएका समाचार र साथीहरूले सुनाएको आधारमा यसको विश्लेषण गर्न लागेको हुँ ।

माघ ३ गते छेस्काम माविको विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रम थियो । समितिको नेतृत्वका लागि छेस्कामका दुई जना होनाहार युवाहरूबीच प्रतिष्पर्धा भयो । दुवैजनाले समितिको अध्यक्ष पदका लागि दाबी नछाडे पनि अभिभावकहरूको मतदानबाट निणर्यमा पुग्नुपर्ने अवस्था सिर्जना भयो । सायद यहाँसम्म दुवै पक्षबीच सौहार्दता कायम छ । मतदान प्रक्रिया सुरु भइसकेपछि केही प्राविधिक कारण विवाद भए । विद्यार्थीको नाम र अभिभावकको नाममा देखिएका केही गल्तिले विवादको रूप लियो । एउटा पक्षले नियोजित रूपमा नाम बिगारेको आरोप लगाए । त्यो नियोजित थियो वा थिएन, सम्बन्धित व्यक्तिहरूले नै जानून ।

विवादका बीच मतदान सम्पन्न भयो र मत गणना गरियो । त्यहाँसम्म पुगेपछि एउटा नतिजा आउने कुरा त निश्चित नै थियो । मतपरिणाम आइसकेपछि त्यसलाई दुवै पक्षले स्वीकार गरेर सौहार्द वातावरणमा विद्यालयको अवस्था सुधार गर्न हातेमालो गर्ने प्रतिवद्धता जाहेर गर्नुपर्नेमा त्यसो हुन सकेन । अन्ततः विद्यालय रणभूमिमा परिणत भयो । दुवै पक्षका साथीहरू घाइते हुनुभयो, विद्यालयको भौतिक सम्पत्ति समेत क्षति भयो ।

घटनाका कारण
यी सबै घटना सचेत नागरिक जो कोहीका लागि पनि प्रिय घटना पक्कै होइनन् । निर्वाचनमा सहभागी भइरहँदा दुवै पक्षको अपेक्षा जित नै हो । तर, निर्वाचनमा सहभागी भएर त्यस प्रक्रियामा सहमति जनाइसकेपछि निर्वाचन परिणामलाई दुवै पक्षले स्वीकार गरेर अगाडि बढ्नुपर्ने थियो । एउटा पक्षलाई निर्वाचन हारेको कुण्ठा र निरासा हुनु र अर्को पक्षलाई जीतको उन्माद हुनु त्यति अस्वाभाविक नहोला । तर, ति निराशा र कुण्ठा तथा उन्मादको उचित व्यवस्थापनमा नेतृत्व पक्षले ध्यान दिनुपथ्र्यो ।

दुवै पक्षले आफूलाई र आफ्ना समर्थकलाई संयमित बनाउन सकेको भए यो घटना हुँदैन थियो । एउटा नेताले आफ्ना समर्थकहरूलाई उत्तेजित भइरहेको बेलामा संयमित हुन आग्रह मात्र गरेको भए पनि सायद यो परिणाम देखिने थिएन । यो घटनाको मुख्य कारक नेताहरू नै हुन्, जसले आफ्ना समर्थकहरूलाई नियन्त्रण गर्न सकेन । अझ निर्मम भएर भन्ने हो भने राजनीतिक दलहरू सबैभन्दा बढी जिम्मेवार हुन्, जसले जनताहरूलाई कुनै न कुनै बहानामा सधैं विभाजित बनाएर राखिरहेका छन् ।

अर्कोतर्फ विद्यालय प्रशासनले केही कमजोरी गरेको पक्कै हो । निर्वाचनमा उत्रिएका दुई पक्षका त्यति धेरै समर्थकहरूबीच त्यति तत्कालै मतगणना गर्न आवश्यक थिएन । गर्दा पनि मतगणना कार्यलाई व्यवस्थित गर्न सकेन । आवश्यक सुरक्षा व्यवस्था प्रबन्ध गर्न सकेन । मतगणना कार्यलाई स्थगित गरेर राती १० बजेसम्म लगाउनुको साटो भोलिपल्ट गणना गरेको भए निर्वाचन परिणाममा फरक पर्ने थिएन होला । अझ मतपरिणाम सार्वजनिक भइसकेपछि तत्कालै बधाई ज्ञापन तथा पद हस्तान्तरणको काम राति १० बजे गर्नु त कुनै हालतमा ठीक कार्य होइन । यसकारण यो घटनाको जिम्मेवारीको केही अंश विद्यालय प्रशासक, निर्वाचन आयुक्त तथा प्रधानाध्यापकसमेतको हैसियतमा गुरु सरको भागमा पनि जान्छ ।

त्यस्तै छेस्कामको परिस्थितिका बारेमा स्थानीय प्रशासन पहिलेदेखि नै जानकार छ । त्यहाँको अवस्थाको बारेमा प्रहरीलाई थाहा हुँदा हुँदै पनि आवश्यक सुरक्षा प्रवन्धका लागि तयारी गर्न सकेन । भीडलाई नियन्त्रण गर्नसक्ने प्रहरीको संख्या व्यवस्थापन गर्न नसकेको, भीडलाई तितरवितर पार्नका लागि आवश्यक हतियार व्यवस्थापन गर्न नसकेकोलगायतका कारण प्रहरी र स्थानीय प्रशासनले पनि घटनाको जिम्मेवारीबाट भाग्ने अवस्था देखिदैन ।
सबैभन्दा बढी जिम्मेवार त छेस्कामका सबै बुद्दिजिवी भनिनेहरू नै हुन् ।

अबको बाटो
घटनापछि उजुरी बोकेर दुवै पक्ष जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । यो आलेखमा मैले कसैलाई सही र कसैलाई गलत सावित गर्न खोजिरहेको छैन । मैले यो घटनालाई दूर्भाग्य भन्न बाहेक अरु केही धारणा बनाइरहेको छैन ।

यी विषय राजनीतिक दलसँग सम्बन्धित भएका कारण मेरो व्यक्तिगत आस्था र निकटताका आधारमा एउटा पक्षसँग मेरो अलि बढी सहानुभूति देखिन सक्ला । तर, मेरो अन्तरआत्माले दुवै पक्षलाई ठीक गरिस् भनेर स्यावासी दिन सकिरहेको छैन । हिजो हामीले बेलाबखत आफू निकटताले गरेको गल्तीलाई ढाकछोप गरेका पनि होलाउ, तर आजको दिनमा आइपुग्दा ती गल्ती अझै पनि दोहोर्‍याइरहने हो भने हामी सही बाटोमा जानसक्दैनौँ ।

अब दुवै पक्षले आफूलाई पीडित र अर्कालाई पीडकका रूपमा सावित गर्न कानुनी बाटो अपनाउने भनिरहेकै छन् । हामीले वकालत गर्दै आएको लोकतान्त्रिक र कानुनी समाजमा हुनुपर्ने यस्तै हो । कानुन कार्यान्वयन गर्ने निकायले उपलब्ध तथ्य र प्रमाणका आधारमा दुवै पक्षको गल्ती र पीडाको लेखाजोखा गरिदेला त्यसमा पनि अनावश्यक आशंका गरिरहन जरुरी देखिएन ।

तर, सम्बन्धित निकायले न्याय निरुपण गरिसकेपछि अहिले देखिएको सामाजिक र राजनैतिक वातावरण सङ्लिएर जाला ? मलाई लागिरहेको अहम् प्रश्न यही हो । त्यसैले अब यसको जवाफ त्यहाँका नेता, तीनका कार्यकर्ता र जनता सबैले जिम्मेवार ढंगबाट दिनुपर्दछ । त्यसैले दुवै पक्षले एकअर्कालाई अदालतको कठगरामा उभ्याउनुमा आफ्नो जीत सम्झने मुर्खता गर्नुहुँदैन । ती प्रक्रियाले यसको स्थायी समाधान दिनसक्दैन । बरु एउटा पक्षले अर्को पक्षलाई मनमा तुष राखेर फेरि अर्को मौकाको पर्खाइमा रह्यो भने त्यो अनन्त श्रृंख्लामा पुग्दछ । त्यसले माघ ३ को जस्तो अरु थुप्रै घटना गराउन सक्दछन् । विद्यालय व्यवस्थापन समितिको गठन यो अन्तिम पटक भएको होइन । विव्यास, उपभोक्ता समिति, सामुदायिक वन समिति, विभिन्न क्लव तथा वचत समूहमा समेत यस्ता निर्वाचन प्रक्रिया थुप्रै पटक हुनेछन् । स्थानीय र आम निर्वाचनको कुरा त झन् जटिल नै हो ।

मेरो आशय गल्ती गर्ने वा दोषीलाई उन्मुक्ति दिनुपर्ने भन्ने लाग्यो भने माफी चाहन्छु । तर, न्याय निरुपण गर्ने निकाय अदालतमै पनि अधिकांश मुद्दामा मेलमिलापलाई पहिलो विकल्पका रूपमा लिइएको छ । त्यसैले यसलाई मेलमिलापको अर्थमा बुझ्नु अनर्थ नहोला ।

यो आलेख तयार पार्ने बेलामा मैले थुप्रै शीर्षक सोचे, तर अन्त्यमा छेस्कामबासीहरूको मन दुख्ला भन्ने जान्दा जान्दै पनि कुरीकुरी छेस्काम भन्ने उपयुक्त ठहर्‍याए । सबै छेस्काम र महाकुलुङबासीसँग क्षमा याचना गर्दै यो शीर्षकको औचित्य पुष्टि गर्न चाहन्छु ।

मेरा धेरै छेस्कामका मित्रहरूले त्यहाँको राजनैतिक र सामाजिक वातावरणका बारेमा मलाई सुनाउनुहुन्छ । कति साथीहरूले त यति दिक्दारी सुनाउनुहुन्छ की छेस्काममा ‘बस्नै मन छैन’ सम्म भन्न भ्याउनु भएको छ । ‘अब छेस्काम सोझा सिधा, निर्धो दुब्लो, शक्तिहीन मानिसले बस्नै नसक्ने ठाउँम परिणत भएको हो ?’ भन्ने मेरो प्रश्नमा अधिकांशले ‘हो’ भन्ने जवाफ दिनुभयो ।
ठाउँ आफैमा यो सबैको जिम्मेवार होइन । यस्तो राजनैतिक र सामाजिक वातावरण बनाउन जिम्मेवार हामी आफैं हौं । यो समाज हामीले नै निर्माण गरेका हौँ । हामीले नै त्यो वातावरण बनाएका हौ, भने त्यस्तो खराब समाज निर्माण गर्ने हामीलाई अब कुरीकुरी भन्ने बेला भएन र !
अझ धेरै त त्यस क्षेत्रमा नेता हौँ भन्ने हामीले आफैलाई कुरीकुरी भन्ने बेला भएन र !

लेखक पत्रकार तथा महाकुलुङ गाउँपालिकाका स्थानीय हुनुहुन्छ 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार