राजीनामा नदिए क्याम्पस प्रमुखलाई जेल हाल्ने उकुलपतिको धम्की

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले दुर्व्यवहार र गालीगलौज गरेको भन्दै विश्वविद्यालयका दुईजना निर्देशक र पाँच जना क्याम्पस प्रमुखले सामूहिक राजीनामा दिएका छन्।

बुधबार उपकुलपति डा सिंहले आफनै कार्यकक्षमा राखेको बैठकमा निर्देशक र क्याम्पस प्रमुखहरूलाई दुर्व्यवहार गरेका थिए। इन्जिनियरिङ संकायका विद्यार्थीहरूको जारी आन्दोलनको विषयलाई दिएर संकायका प्रमुख सोनालाल यादवलाई उपकुलपति सिंहले जातीयता र क्षेत्रीयताको कुरा गर्दै दुर्व्यवहार गरेको स्रोतले बतायो।

‘क्याम्पस प्रमुखमाथि गरिएको दुर्व्यवहारले हामी सबैलाई मानमर्दन भएको महशुस भयो,’ सामूहिक राजीनामामा भनिएको छ,’ यस्तो मानमर्दन भइरहँदा आ–आफ्नो जिम्मेवारी निरन्तर पूरा गर्न नसकिने महशुस गरी सामूहिक राजीनामा पेश गर्दछौं।’

इन्जिनियरिङ क्याम्पस प्रमुख सोनालाल यादव, विज्ञान संकायका कृष्णप्रसाद चपाई, शिक्षा विज्ञान संकायका जसवीर रोका, मानविकी संकायका प्रमुख तेजविक्रम बस्नेत, व्यवस्थापन संकायका प्रमुख दीपकसिंह रावत, स्कुल अफ म्यानेज्मेन्टका निर्देशक डा सुशीलकुमार शाही र स्कुल अफ लका निर्देशक डा अर्जुनबहादुर अयडीले राजीनामा दिएका हुन। उनीहरूको राजीनामा शुक्रबारसम्म स्वीकृत भएको छैन।

इन्जिनियरिङ संकायका विद्यार्थीले लगाएको ताला क्याम्पस प्रमुखले नफोडेको भन्दै बैठकमा उपकुलपतिले आक्रोश पोखेका थिए। ‘सुरुमा क्याम्पस प्रमुखको काम, कर्तव्य र अधिकारका विषयमा पढेर सुनाउनु भयो,’ बैठकमा सहभागी एक क्याम्पस प्रमुखले भने, ‘त्यसपछि विद्यार्थीहरूसँग ताला खोल्ने विषयमा किन वार्ता गरेको रु आफै ताला किन नफोडेको ? भन्दै गाली गर्न थाल्नु भयो।’ बैठकमा उपकुलपति सिंहले विद्यार्थीको जारी आन्दोलनलाई दमन गरेर दबाउनुको सट्टा वार्ता र संवाद गरेको भन्दै पटक–पटक आक्राशे पोखेका थिए।

उपकुलपति डा सिंहले विश्वविद्यालयमा हाइड्रो इन्जिनियरिङको पठन–पाठन किन गरेको भन्दै क्याम्पस प्रमुख यादवसँग आक्रोस पोखेका थिए। उनले आफू कर्णालीको भूमिपुत्र भएको बताउँदै जातीयता र क्षेत्रीयताको कुरा उठाएर यादवलाई गालीगलौज गरेका थिए। ‘प्राज्ञिक व्यक्तिले जातीयता र क्षेत्रीयताको कुरा उठाउँदै सामूहिक गालीगलौज गरेपछि केहीबेर दोहोरो भनाभन भयो,’ सहभागी एक क्याम्पस प्रमुखले भने, उपकुलपतिको अपमान सहेर बस्नुभन्दा सामूहिक राजीनामा दिने निर्णयमा पुग्यौं।

उपकुलपतिले राजीनामा दिन वा छ महिनाभित्र जेल जान तयार हुन धम्की पनि दिएको बैठकमा सहभागीहरूले बताएका छन्।-रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार