‘प्रचण्ड’ ले कारबाही गरेपछि केपी ओली भन्छन्, ‘जसको कटेरो उसको पुच्छर बाहिर’

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

यो खेमाको आज पेरिसडाँडामा बसेको स्थायी कमिटि बैठकले ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको हो ।

यसअघि केन्द्रीय कमिटिको बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पनि ओलीले देश र जनताको हित विपरीतका गतिविधि कायमै राखेकोले आजको स्थायी कमिटि बैठकले उहाँलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

ओलीलाई अध्यक्षबाट हटाएर प्रचण्ड–नेपाल खेमाले माधवकुमार नेपाललाई अध्यक्षमा चयन गरेको थियो । त्यसपछि पनि ओलीले पार्टी र देशको हितविपरीतका गतिविधि कायमै राखेपछि साधारण सदस्य समेत नरहने गरी किन कारबाही नगर्ने भन्दै तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण सोधिएको थियो ।

तर बालुवाटारमा बुझाइएको उक्त पत्रको जवाफ नदिएपछि प्रचण्ड–नेपाल समूहको नेकपाले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।
यता प्रधानमन्त्री ओलीले भने प्रचण्ड–नेपाल समूहले आफूलाई गरेको कारबाहीलाई हँसिमजाकमा उडाउनुभएको छ । यो कारबाहीलाई उहाँले जसको कटेरो उसकै पुच्छर बाहिरको संज्ञा दिँदै आउनुभएको छ ।

पार्टीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंगको निर्णय लिएपछि नेकपामा दुई चिरा परेको छ ।

संविधान नै ध्वस्त पार्ने गतिविधिमा संलग्न भएको भन्दै प्रचण्ड–नेपाल समूहले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरे पनि ओली समूहले भने प्रचण्डको कार्यकारी अध्यक्षको हैसियत मात्रै खोसेको छ । पार्टीको आधिकारिकताको विवाद निर्वाचन आयोगमा विचाराधिन छ । यो विवादबारे टुंगोमा पुग्न आयोगको बैठक अहिले बसिरहेको छ ।-nepalinetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार