नेकपा सोलुखुम्बुमा पहिरो : एउटै वडाबाट पौने दुई सय कार्यकर्ता काँग्रेसमा प्रवेश

सोलुखुम्बु । सोलुखुम्बुको एउटै वडाबाट नेकपाका डेढ सय नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका–७ तोजिङमा भएको काँग्रेसको पार्टी सुदृढिकरण तथा संगठन विस्तार कार्यक्रमका क्रममा नेकपा परित्याग गरी १७३ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । स्थानीय समाजसेवी तथा काँग्रेस नेता सोनामग्याल्जेन शेर्पाको विशेष सक्रियतामा यति धेरै संख्यामा पार्टी प्रवेश गराइएको हो ।

नवप्रवेशीलाई पार्टी प्रवेश गराउँदै नेपाली काँग्रेस सोलखुम्बुका पुर्व पार्टी सभापति आङगेलु शेर्पाले जनताको पार्टी काँग्रेस भएकाले अझै धेरै काँग्रेसमा आउने बताउनुभयो । वर्तमान सरकार भ्रष्टचारमा लिप्त रहेको आरोप लगाउँदै नेता शेर्पाले जनताप्रति जिम्मेवार बन्न नसकेको भ्रष्ट सरकारलाई अब जनताले कुनै हालतमा पनि विश्वास नगर्ने ठोकुवा गर्नुभयो ।

कोरनाका कारण उत्पन्न भएको वरोजगारीको समस्यालाई समाधान गर्न सरकारले ठोस कार्यक्रम नल्याएको बताउनुभयो । काम गर्न नसक्ने कम्युनिष्ट सरकारले पार्टीको तामासा देखाएर जनताको भोक नमेटिने उहाँको टिप्पणी छ । नेकपाले हरेक कुरामा नाटक मञ्चन गरेको भन्दै अबको विकल्प नेपाली काँग्रेस रहेको उहाँको भनाइ छ ।

त्यस अवसरमा सोलुखुम्बु निर्वाचन क्षेत्र प्रदेश क सभापति तथा पार्टी सचिव धनजन राईले काँग्रेसलाई सुदृढिकरण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले अब जनताको विकल्प काँग्रेस भएको भन्दै काँग्रेसले नेतृत्व गरिरहेको एक मात्र सोलुदूधकुण्ड नगरपालिकामा पारदर्शी ढङ्गले काम भईरहेको उहाँको दाबी छ ।

त्यस्तै, सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले संविधान, संघीयता, गणतन्त्र र देश खतरामा रहेको भन्दै नेकपा सरकारले अस्थिरता उत्पन्न गराई प्रतिगमनको दिशामा अघि बढेको आरोप लगाउनुभयो । सोेलुदूधकुण्ड नगरपालिकाका काँग्रेस सभापति दावागेलु पाख्रिनले अन्य स्थानीय तहको तुलानामा सोलुदूधकुण्ड नगरपालिकामा प्रभावकारी काम भएको बताउनुभभयो ।

सोलुदूधकुण्ड नगर कार्यापालिका सदस्य सोनामग्याल्जेन शेर्पाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन असंवैधानिक भएको तर्क गर्नुभयो । नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नुभएका ङिमागेलु शेर्पाले नेकपा सरकारले जनताको मतको कदर नगरेकोे र कार्यकर्ताप्रति अविश्वास गरेका कारण आफु काँग्रेस प्रवेश गरेकोे बताउनुभयो ।

सोलुदूधकुण्ड नगरपालिका–७ का पार्टी सभापति शम्भु कार्कीको अध्यक्षतमा भएको कार्यक्रममा काँग्रेस नेताहरु धर्म नेपाली, शारदामाया तामाङ, गान्धीमाया तामाङ, छोङ्बा लामा शेर्पा, वीरबहादुर गुरुङलगायत जिल्लास्तरीय नेता, कार्यकर्ता, भाृत, भगिनी तथा शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार