सोलुखुम्बु । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उदेश्यले सोलुखुम्बुका दुई वटा गन्तव्यस्थल छनौट भएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सोलुखुम्बुको पर्यटकिय स्थल पत्तालेमा पार्क निर्माण र सुकेपोखरी क्षेत्रलाई गन्तव्य सुचीमा समावेश गरेको हो ।
सोलुदुधकुण्ड नगरपालिकाको सिफारिसमा मन्त्रालयको ४ करोड ५५ लाख र नगरपालिकाको २ करोड ४५ लाखको लागत साझेदारीमा पर्यटकिय पार्क निर्माण हुने मेयर नाम्गेल जाङबु शेर्पाले जानकारी दिए । आन्तरिक तथा बाह्यक पर्यटकको बढवाका लागि पार्क निर्माण गर्ने द्येयले नगरपालिकाले सिफारिस गरेको थियो ।
पार्कमा बृक्षारोपण, बगैँचा, शौचालय लगायतका संरचना निर्माण हुने मेयर शेर्पाले बताए । सगरमाथा लगायतका दर्जनौ हिमश्रृङखला अवलोकन गर्ने स्थानका रहेको पत्तालेमा आवश्यक भौतिक पुर्वाधारको विकास गरि पर्यटनलाई नगरपालिकाले बढवा दिन लागेको हो ।
त्यस्तै, सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ जुबु स्थित सुकेपोखरी क्षेत्र पनि पर्यटन प्रवर्द्धन गर्नका लागि छनौटमा परेको छ । सुकेपोखरीको समग्र विकासका लागि पर्यटन मन्त्रालयले २ करोड ८० लाख र गाउँपालिकाले १ करोड २० लाख बजेट लागत साझेदारी गर्ने मन्त्रालयले जनाएको छ ।