प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई लोडसेडिङ मुक्त गराउने काम कुलमान घिसिङले नभई आफूले गरेको दाबी गर्नुभएको छ ।
लोडसेडिङ हटाएको जस अरुले लिन खोजे पनि भारतसँग विद्युत खरिद सम्झौता गरेर आफूले लोडसेडिङ हटाएको उहाँको भनाइ छ ।
प्रधानमन्त्री ओलीले आज काठमाडौंमा आयोजित उद्योगी तथा व्यावसायीको राष्ट्रिय भेलामा यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘जस विभिन्नले लिन खोजे, मलाई जसको कुरा होइन तर भारतबाट विद्युत ल्याउने सहमति मैले गरेको हुँ ।’
भारतबाट विद्युत किन्ने, देशभित्रै उत्पादन बढाउने चाँजोपाँजो मिलाउने र प्रसारण लाइन सुधार गर्ने लगायतका काम आफूले गरेको ओलीले बताउनुभयो ।
नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका उहाँले आफू पहिलो पटक प्रधानमन्त्री भएको एक हप्ताभित्र झापाबाट अर्को तिहार अँध्यारोमा मनाउनु पर्दैन भनेपछि लोडसेडिङ हटेको जिकिर गर्नुभयो ।
यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझीले पनि देश लोडसेडिङ मुक्त हुनुमा कुलमान घिसिङको कुनै योगदान नभएको बताउनुभएको थियो ।-nepalinetwork