सोलुखुम्बु प्रहरीले थाल्यो ‘बुस्टिङ प्रोफेस्नालिजम क्याम्पियन’


सन्तोष राउत/सोलुखुम्बु। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले मुलुकमै पहिलोपटक मातहतका प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका लागि नवप्रवद्र्धनात्मक कार्यक्रम शुरु गरेको छ ।

परिवर्तित सन्दर्भमा प्रहरी जनशक्तिलाई अझ बढी व्यवसायिक, ईमान्दार, कर्तव्यनिष्ठ, लगनशील बनाउदै सेवा प्रवाह गर्न ‘बुस्टिङ प्रोफेस्नालिजम क्याम्पियन’ शुरु गरिएको हो ।

शुरुमा आर्थिक रुपले सदाचारी बनाउन प्रशिक्षण दिइएको र अब क्रमशः विभिन्न व्यवसायिक कुशलता वृद्धि गर्ने खालका कार्यक्रमहरु गर्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोलुखुम्बु पर्यटकीय जिल्ला भएकाले आधारभूत रुपमा अंग्रेजी बोल्न र फर्काउन सक्ने भाषिक तालिम दिने, पुस्तकालय स्थापना गरी अध्ययनशिल बनाउने र प्रहरीले गर्नुपर्ने पेशागत सीपका लागि आवश्यक प्रशिक्षण क्रमशः दिइनेछ ।

यस कार्यक्रमले प्रहरी कर्मचारीहरुलाई आफ्नो पेसाप्रति आत्मविश्वास जगाई उत्कृष्ट कार्यसम्पादन गर्न उत्प्रेरणा प्रदान गर्दै नेपाल प्रहरी संगठनप्रति अपनत्वबोध गराउने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले बताउनुभयो ।

कार्यक्रमले धरै ज्ञान प्रदान गरेको भन्दै सहभागी प्रहरी कर्मचारीहरुले खुशी व्यक्त गरेका छन् । ठाउँअनुसार फरक फरक व्यवसायिक दक्षता आवश्यकता पर्ने भएकाले यस्ता कार्यक्रमले जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न सजिलो हुने उनीहरुको भनाइ छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार