धमाधम स्तरोन्नती हुँदै पर्यटकीय सडक

सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु जाने सडक विस्तार तथा स्तरोन्नतीको काम धमाधम भइरहेको छ । प्रदेस सरकारको लगानीमा सदरमुकाम सल्लेरीको सेर्गाखोपबाट सेलगुडी डाँडासम्मको कच्ची सडकलाई बाह्रै महिना यातायातका साधन चल्ने बनाउन लागिएको हो ।

यसअघि वर्षायाममा हिलोको कारण सवारी साधान चल्न नसक्ने र हिउँदमा मात्र चल्ने गरेको यस सडक खण्डमा नाली बनाउने, मेशिनरी वाल, ग्याबिङ वाल, ग्रेडिङ, सोलिङ, ह्यूम पाइप बिच्छ्याएर पानी कटाउने लगायतका काम भइरहेको निर्माण कम्पनीका साइड इन्चार्ज बुद्धि मगरले जानकारी दिनुभयो ।

प्रदेश १ को पूर्वाधार विकास कार्यालयको भ्याट सहित चार करोड ८२ लाख रुपियाँको लागतमा रामेछापको शेर्पा कन्स्ट्रक्सन आर.के. जेभीले निर्माणको जिम्मा लिएर तिव्र गतिमा काम गरिरहेको हो । बहुवर्षिय आयोजनाको रुपमा रहेको सडकमा उक्त रकम बराबरको काम यस वर्ष हुने मगरले बताउनुभयो ।

सडक स्तरोन्नती भएपछि वर्षायाममा पनि यातायातका साधन सजिलै चल्न सक्ने भन्दै पर्यटन व्यवसायी तथा माप्य दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हमू गाउँपालिकाका स्थानीय खुशी भएका छन । युवा पर्यटन व्यवसायी तथा हिमालयन म्याजिक ट्रेक्स प्रा.लि.का प्रबन्ध निर्देशक नविन कार्कीले यस सडकको स्तरोन्नती भएपछि आन्तरिक तथा बाह्य पर्यटक खुम्बु प्रवेश गर्न सहज हुने बताउनुभयो ।

त्यस्तै, माप्य दूधकोशी गाउँपालिकाका उजिर कार्कीले वर्षायाममा यातायातका साधन नचल्दा खेपेको सास्ती र मूल्य वृद्धि सम्झँदै अब यसबाट मुक्ति मिल्न सक्ने बताउनुभयो । सोलुदूधकुण्ड नगरपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानासम्म मुख्य समस्या रहेको सडक तयार भएपछि त्यस भन्दा अगाडीको सडक पनि राम्रो रहेको उहाँको भनाइ छ ।

यसअघि मुख्यमन्त्रि शेरधन राईले खुम्बु जोड्ने ओर्लाङ्घाटमा मोटरेबल पुल उद्घाटन गरेसँगै सडक राम्रो बनाउन सके खुम्बु प्रवेश गर्न पर्यटक तथा स्थानीयलाई सडकबाट सहज हुने र तल्लो सोलुमा समेत पर्यटनको विकास हुने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार