सरकारी फौजदारी मुद्दाको अभियोजन नीतिमा अन्तरक्रिया

सन्तोष राउत/सोलुखुम्बु । अभियोजनमा सुधार, फौजदारी न्यायको आधार भन्ने नार साथ जिल्ला सरकारी वकिल कार्यालय सोलुखुम्बुले अभियोजन नीति तथा मार्गदर्शन २०७७ र सोलुखुम्बुमा सरकारवादी फौजदारी मुद्दाको अवस्था सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ।

कार्यालयका जिल्ला न्यायधीवक्ता श्रीराम खनालले सरकारी वकिल, सरकारवादी फौजदारी मुद्दामा सरकारी वकिलको भुमिका, सोलुखुम्बुमा सरकारवादी फौजदारी मुद्दाको अवस्था, आर्थिक वर्ष २०७७/७८ लाई अभियोजनमा सुधार वर्षका रूपमा रहेको, अभियोजन नीति तथा मार्गदर्शन २०७७ का प्रमुख विशेषताहरु, समन्वयका क्षेत्रहरु लगायतका विषयमा प्रकाश पार्नुभएको थियो।

यस अवसरमा प्रमुख अतिथिका रुपमा सोलुखुम्बुका जिल्ला न्यायाधीश महेन्द्रराज काफ्लेले मुद्दामा उल्लेखित व्यक्तिहरूको सबै कागजात र यथार्थ विवरण हुनुपर्ने, साबुतीमुखी बयान गर्ने चलनमा कमी ल्याउनुपर्ने लगायतका सुझाव दिनुभयो।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले अभियोजन महत्वपूर्ण आधार भएकोले यसलाई तयार गर्दा तथ्य र प्रमाणका आधारमा गर्नुपर्ने बताउनुभयो। न्याय मर्न नदिने किसिमले अभियोजन तयार गर्नुपर्ने उहाँको भनाइ छ।

नेपाल वार एसोसिएसन सोलुखुम्बुका अध्यक्ष एकराज शर्माले कानुनमा व्यवस्था भए बमोजिम छुटको व्यवस्थालाई पनि अभ्यासमा ल्याउन सुझाव दिनुभयो।

सुझाव दिने क्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले अपराध अनुसन्धानमा नेपाल प्रहरीले शुन्य सहनशिलताको बाटोमार्फत मानवअधिकारको सम्मान गर्दै प्रमाणमुखी अनुसन्धान गरिरहेको जानकारी दिनुभयो। भौगोलिक विकटताको समस्यालाई समेत सामना गर्दै अदालतले तोकेको म्यादभित्र नै अपराध पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रयासरत रहेको बताउनुभयो।

कार्यक्रममा अनुसन्धान अधिकृत देवेन्द्र खतिवडा, सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्याय, शसस्त्र प्रहरी नायब उपरीक्षक लगायत विभिन्न कानुन कार्यान्वयनसंग सम्बद्ध अर्धन्यायिक तथा न्यायिक कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार