जलेको रेडियोलाई हिमाल एफएमद्वारा स्टुडियो उपकरण सहयोग

जलेको रेडियोलाई हिमाल एफएमद्वारा स्टुडियो उपकरण सहयो
सोलुखुम्बु । आइतबार मध्यरातमा भएको आगलागीबाट स्टुडियो पूर्ण रुपमा जलेको सोलुखुम्बुको सामुदायिक सोलु एफ.एम.लाई जिल्लाकै हिमाल एफ.एम.ले प्रसारण सुचारु गर्नका लागि स्टुडियो उपकरण सहयोग गरेको छ ।

स्टुडियो र टावरबिच लिङ्क कायाम गर्ने मुख्य उपकरण ब्यारिक्स इन्कोडर मङ्गलबार हिमाल एफ.एम.का प्रबन्ध निर्देशक भानुभक्त निरौलाले सोलु एफ.एम.सञ्चालक समिति अध्यक्ष बुद्धिनारायण श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।

उपकरण हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक निरौलाले एउटा सञ्चार गृहलाई समस्या आईपर्दा सबै सञ्चारगृह मिलेर सामना गर्नुपर्ने बताउनुभयो । हिमाल एफ.एम. सदैव सबै सञ्चार गृहसँग हातेमालो गरी अगाडी बढ्ने भन्दै आपसी सहयोग र सहकार्यलाई मजबुद बनाउनु पर्ने उहाँको भनाइ छ ।

यसअघि मङ्गलबार दिउँसो हिमाल एफ.एम.को सञ्चालक समितिका अध्यक्ष निमा शेर्पाले एक प्रेस विज्ञप्ति जारी गर्दै आगलागीका कारण एफ.एम.को स्टुडियो र स्टुडियोमा जडित सम्पूर्ण प्राविधिक उपकरणहरु जलेर रेडियो प्रसारण अवरुद्ध हुनु दुखद घटना भएको भन्दै अन्य निकायलाई पनि सहयोगको अपिल गर्नु भएको छ ।

अध्यक्ष शेर्पाले घटना भएको दुई दिन बित्दा पनि आगलागीको ठोस कारण पत्ता लाग्न नसक्नु र कार्यालयको सिसिटिभि फुटेज पनि हराउनुले घटनालाई थप शंकास्पद बनाएको भन्दै घटनाको निष्पक्ष छानविनको माग गर्नुभएको छ ।

उपकरण ग्रहण गर्दै योङस्टार क्लबका अध्यक्ष बुद्धिनारायाण श्रेष्ठले सङ्कटको घडीमा सहयोगको हात अगाडी बढाएको भन्दै हिमाल एफ.एम.को प्रशंसा गर्नुभयो ।

सो क्रममा क्लबका सञ्चार विभाग प्रमुख मनोजकुमार श्रेष्ठ, सह–सचिव लालकाजी श्रेष्ठ लगायतले धन्यबाद ज्ञापन गर्नुभयो । २०६१ सालमा स्थापना भएको सोलु एफएम अहिले एक हजार वाट क्षमतामा प्रसारण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार