ओली-प्रचण्ड विधिवत् रुपमा अलग, को कता ?

सर्वोच्च अदालतको ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला सुनाएपछि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज भएको छ । योसँगै विभाजित भइसकेका ओली र प्रचण्ड विधिवत् रुपमा आजबाट अलग भएका छन् ।

निर्वाचन आयोगबाट वैधानिकताका लागि निर्णय पर्खिएर बसेका ओली र प्रचण्ड दुवैलाई आजको फैसलाले विधिवत् रुपमा अलग बनाइदिएको छ । फैसला अनुसार नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएको छ । अब उनीहरुले एकीकरण गर्ने हो भने फेरि नयाँ प्रक्रियामा जानुपर्ने हुन्छ जसको सम्भावना न्युन छ ।

यसअघि संसदमा नेकपाको सभामुखसहित १७४ सिट थियो । अब एमाले र माओवादी ब्युँतिएपछि संसद सदस्य संख्या पुरानै अवस्थामा भएको छ ।

नेकपा एमालेको १२१ प्रतिनिधि सभा सदस्य छन् । माओवादी केन्द्रको ५३ सिट छ । सुर्य चिन्हबाट चुनाव जितेर ओली समूहमै रहेकाहरुको विषय सामान्य ढंगले लिन सकिन्छ । तर, प्रचण्ड माधव समूहमा रहेकाहरुको विषयबारे चासो बढेको छ । जसमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुषाल, रामुकमारी झाँक्रीलगायत नेताहरु छन् । उनीहरु अब एमालेमा फर्कनुपर्ने हुन्छ । नफर्किएमा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गर्न सक्छन् ।

प्रचण्ड समूहका ५० जना सांसद उनकै समूहमा छन् । तर, ओली सरकारमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी माओवादी केन्द्रका सांसदहरु नै भएका छन् । उनीहरु माओवादी केन्द्रमा नफर्किए कानुनी कारबाही गर्न सक्ने अधिकार संसदीय दलको नेतालाई हुनेछ । माओवादी केन्द्रको संसदीय दलका नेता प्रचण्ड हुन् ।-रिपोर्टर्सनेपाल डटकमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार