कक्षा १० (एसइई) र १२ को अन्तिम परीक्षाको मिति तय

२०७७ सालको कक्षा १० को अन्तिम परीक्षा एसईई जेठ दोश्रो साताबाट हुने भएको छ । जेठ १३ देखि २४ गते सम्म परीक्षा गर्ने निर्णय गरिएको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का नियन्त्रक रामराज खकुरेलले जानकारी दिए । कोरोना भाईरस कोभिड १९ का कारण पठन पाठन नभए पछि यो बर्ष परीक्षा दुई महिना ढिलो हुने भएको हो ।

‘आज बसेको बोर्ड बैठकले एसईई परीक्षा सञ्चालनको मिति तय गरेको हो, भोलिको गोरखापत्रमा रुटिन प्रकाशित गर्ने छौं’ उनले भने, ‘साविककै शैलीमा परीक्षा गर्ने गरी मन्त्रीपरिषद्ले गरेको निर्णयका आधारमा यो निर्णय गरिएको हो ।’

कक्षा १० को अन्तिममा लिईने परीक्षा साविककै शैलीमा गर्ने गरी गत माघ २६ गते सरकारले निर्णय गरेको थियो । परीक्षा मिति तय भएसँगै प्रश्नपत्र निर्माण र परीक्षा केन्द्र निर्धारणको काम द्रुत गतिमा अघि बढ्ने उनले बताए । कतिपय जिल्लाले परीक्षा केन्द्र निर्धारण गरिसकेको जनाए पनि कतिपयमा यो काम जारी रहेको उनले बताए ।

माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत हुने सँविधानको व्यवस्था र तीन तहको सरकारको अधिकार क्षेत्रको बाँडफाँट गर्दा कक्षा १० को परीक्षा प्रदेशमा राखिए पनि सरकारले वेवास्ता गर्दै आएको छ । यस पटक कोरोनाका कारण अहिले सम्मको अपजस मेटाउने मौका आए पनि सरकारले फेरी पुरानै शैलीमा जाने गरी निर्णय गरेको भन्दै आलोचना जारी छ ।

गत शुक्रबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले खकुरेलको सरुवा विद्यालय शिक्षक कितावखानामा गरेका छन् । एसईई परीक्षाको मिति तय गर्ने निर्णय पछि बल्ल खकुरेलले नयाँ अड्डामा हाजिर गर्ने भएका छन् ।

यसैबिच कक्षा १२ को अन्तिम परीक्षा जेठको २६ देखि असार ४ गते सम्म गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  Source : edukhabar.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार