तारानाथ नेपाल : हिजोआज अधिकांश अभिभावक राम्रो पढ्न सकेनन्, पढाइ चित्तबुझ्दो छैन भनेर छोराछोरीको पढाइप्रतिको असन्तुष्टि प्रकट गरिरहन्छन् । यति मात्र होइन, पढाइप्रति छोराछोरीको लगाव, रुचि घट्दै गएकोमा खास गरी अभिभावकले कि त आफ्ना छोराछोरी कि त विद्यालयलाई दोष थोपर्छन् । अवश्य पनि बालबालिकाको गुणस्तरीय सिकाइका लागि विद्यालय वा शिक्षक अनि विद्यार्थी स्वयं मह्त्त्वपूर्ण पक्ष हुन् । तर सँगसँगै अभिभावक अर्को महत्त्वपूर्ण पक्ष हो । यहाँ अभिभावक भन्नाले शिक्षक समेतलाई इङ्गित गरिएको हो । अभिभावकको व्यक्तिगत र सामाजिक आचरण; उनीहरूले बालबालिकाका लागि छुट्याएको समय र बालबालिकालाई घर र समुदायमा दिइने संस्कारले बालबालिकाको सिकाइमा ठूलो प्रभाव पारेको हुन्छ ।
धेरैजसो नेपाली अभिभावकहरू फेसबुक, ट्वीटर, म्यासेन्जर, इमो, इन्स्ट्राग्राम, यूट्युब लगायतका सञ्जालमै बढी रमाइरहेका हुन्छन् । सामाजिक सञ्जाल र इन्टरनेटको प्रयोग गर्नै नहुने भन्न खोजिएको होइन । तर मुख्य व्यवसाय झैं गरी हरदम यसैमा झुण्डिने प्रवृत्तिले सीमा नाघ्न थालेको छ । आफ्ना नानीहरू, बालबालिका कुन अवस्थामा छन्, के गरिरहेका छन् भन्ने समेत ख्याल नहुने अवस्थामा पुगिसकेको छ आम अभिभावकको दिनचर्या ।
कुनै बालबालिकाले आफ्नो बाबुलाई ‘बाबा, एकछिन सँगै खेलौं न’ वा आमालाई ‘आमा म एकछिन काखमा बस्छु है !’ भन्दा हामी बुजु्रक अभिभावक ‘चुप लाग्, कति कराको ? पर जा’ जस्ता अपमानजनक व्यवहार गर्छौं । यतिवेला हामी कि त सामाजिक सञ्जालमा झुण्डिएका हुन्छौं कि त टेलिभिजनमा वा कुनै बेतुकको गफमा ! बालबालिकाका थोरै पनि कुरा नसुन्ने, उनीहरूका लागि समय नदिने, अनि ‘पढाइ बिग्रियो, पढिनस् वा पढेर बस्’ मात्रै भनेर बालबालिकाको पढाइ कसरी अघि बढोस् ? के तपाईं दुई घण्टा एकाग्र भएर पढ्न सक्नुहुन्छ ? शायद जवाफ आउँछ मुश्किल छ । हो, अब समस्या यहींनेर अर्थात् तपाईं हामीमा छ । बालबालिकामा हैन ।
आजका धेरैजसो बालबालिकाले पढ्न नसक्नुमा वा नपढ्नुमा उनीहरूको दोष छँदै छैन । छोराछोरीलाई ‘पढ, होमवर्क गर’ मात्रै भन्ने भन्दा उनीहरूका लागि बाबु वा आमामध्ये एकले कम्तीमा दुई घण्टा सँगसँगै गृहकार्य गराउन समय दिनुपर्छ, पढ्न, सिक्न छेवैमा बसेर सहयोग गर्नु पर्छ । छोराछोरीलाई ‘पढ वा होमवर्क गर’ मात्रै भन्ने र आफूचाहिं मोबाइल, टीभी वागफमा झुण्डिने प्रवृत्ति राख्दासम्म नानीबाबुहरूले कहिल्यै शैक्षिक उन्नति गर्न सक्दैनन् । बालबालिकाले जहिल्यै पनि आफूभन्दा ठूला मानिसले के गरिरहेको छ भनेर नियालिरहेका हुन्छन् र ठूलाले जे गरेको छ त्यसै गर्नु पर्छ भन्ने धारणा उनीहरूको कलिलो मस्तिष्कमा पर्न जान्छ । यसर्थ ठूला व्यक्ति अर्थात् अभिभावक एवं शिक्षक आदर्श हुनु नै पर्दछ । अनुशासित र संस्कारित हुनु नै पर्दछ । बालबालिकाको पढाइमा साथ दिन, गृह कार्यमा पढाइमा सहयोग गर्नु का साथै छेवैमा सँगै बसेर, बरू आफू पनि कुनै पुस्तक पढ्ने, केही लेख्ने वा अन्य कुनै प्राज्ञिक उन्नयनका कार्य गर्ने गर्दा बालबालिकाको मस्तिष्कमा बाबाआमा त मसँगै बसेर पढ्नुहुन्छ, लेख्नुहुन्छ त्यसैले मैले नि लेखपढ गर्नुपर्छ भन्ने भावनाको विकास हुन्छ ।
यसै गरी अभिभावकको अर्को दायित्व भनेको बालबालिकाले गरेका प्रश्नको सहज ढङ्गबाट सही जवाफ दिनु हो । जवाफ दिन झर्को मान्ने वागलत जवाफ दिनाले उनीहरूमा नकारात्मक धारणा बस्छ । हामी ठूलाहरूको बानी कति नरराम्रो छ भने बालबालिका भनेपछि हेप्नै पर्ने ‘बच्चा भएर जान्ने हुन्छस् ? बच्चा भएर ठूलो कुरा गर्छस् ? बच्चा भएर अगाडि आउँछस् ?’ भनेर दुत्कार्नै पर्ने ! म स्वयंले भोगेको बालबालिका हुँदाको विभेद आजसम्म ताजै छ । त्यतिवेला त्यो विभेदले चसक्क दुःखेको मन आजसम्म दुःखेकै छ । सन्दर्भ भोजभतेरको । हामीलाई सानामा भोजभतेर र सार्वजनिक कार्यक्रममा असाध्यै हेप्थे ठूलाहरूले । जेमा पनि ‘बच्चाहरू पर, बच्चाहरूलाई थोरै !’ मात्र भनेको सुनिन्थ्यो । यस्ता सार्वजनिक सामाजिक स्थलमा गरिने विभेदले पनि बालबालिकाको मन कुँडिन्छ ।
अझै महत्त्वपूर्ण कुरा भनेको बालबालिकालाई प्रशस्त खेल्न र मनोरञ्जन गर्ने समय दिनुपर्दछ । बालबालिकासँग आफैं खेले उनीहरू ठूला मानिसदेखि निकै खुशी हुन्छन् । उनीहरूका कुरा सुन्दै घुमाउन लगे झनै खुशी हुन्छन् । अनि उनीहरूले पढाइमा जाँगर लगाउने वातावरण बन्न सक्छ । धम्क्याएर, पिटेर वा आफ्नो काबुमा राखेर बालबालिकालाई पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने धारणा सबैले त्याग्नु जरूरी छ । तपाईं हामी ठूला मानिस भएर त चित्त दुख्छ, कहिले खुशी हुन्छौं, कहिले रिसाउँछौं अनि कहिले दुःखी हुन्छौं भने बालबालिका त अबोध प्राणी हुन् । के उनीहरूको चैं मन नहोला र ? चित्त नदुख्ला र ?
बालबालिकालाई अभिभावकबाट टाढा राख्नु वा अलग्याउनु– बालबालिकाको शैक्षिक विकासका लागि मात्र नभई मान सिक, शारीरिक र संवेगात्मक विकासका लागि समेत घातक हुन्छ । बालबालिकालाई आफैंसँग राख्ने, आफैंसँग सुताउने, आफैंसँग खुवाउने धेरैभन्दा धेरै माया दिने खुशी राख्ने गर्नाले स्वस्फूर्त उनीहरूको पढाइमा सुधार आउँछ । अझै कुरा मा रराम्रो संस्कार दिनुपर्दछ बालबालिकालाई ।
घरपरिवारमा बाबु–आमा झगडा नगर्ने, जाँडरक्सी, धूमपान, जुवातासको प्रयोग नगर्ने, ठूलालाई आदर, पाहुनालाई सत्कार र सानालाई माया गर्ने जस्ता असल संस्कार अवलम्बन गर्ने गर्नाले बालबालिका स्वतः अनुशासन, संस्कार र पढाइको सही बाटोमा हिंड्न थाल्छन् । आफ्नो जन्मभूमि, राष्ट्र, संस्कृति, धर्मप्रतिको आस्था जागरुकका लागि पनि अभिभावक नै अनुकरणीय बन्नु आवश्यक छ ।
आपसी सहयोग, मेलमिलाप, धैर्य र सकारात्मक सोचबाट बालबालिकाको मन–मस्तिष्क भर्न अभिभावक आफैं उदाहरणीय बन्न सक्नुपर्दछ । स्वास्थ्य शिक्षा पढाउने, आफैं धुवाँ उडाउने प्रवृत्तिले बालबालिकालाई सही बाटोमा हिंडाउन सकिंदैन । यदि बालबालिकाबाट केही गल्ती भएमा झर्कोफर्को न गरी माफ गरिदिनुपर्दछ । गल्ती नगर्ने उपाय सुझाइदिनुपर्दछ । छोराछोरीलाई घरमा थुनेर आफूचाहिं जथाभावी डुलेर हिंड्ने प्रवृत्ति बालबालिकाका लागि झनै घातक हुन्छ । बाबुआमाबाट पर्याप्त माया नपाएका बालबालिका एकलकाँटे, हिंस्रक, रिसाहा र कसैको वास्ता नगर्ने र लागूऔषधको दुर्व्र्यसनमा फस्नेसम्मका हुन सक्दछन् ।
यदि आफ्ना छोराछोरी पढाइमा, संस्कारमा, अनुशासनमा, बानीबेहोरामा अब्बल होउन् भन्ने अपेक्षा राख्नुहुन्छ भने तपाईं हामीले उनीहरूका लागि पर्याप्त समय, माया, साथ र सहयोग दिनैपर्ने हुन्छ । उनीहरूका इच्छा, चाहना र रुचि पूरा गरिदिनुपर्दछ र हरेक पाइलामा आफू बालबालिकासँगै रहनुपर्दछ ।-Reportersnepal.com