मेरो कार्यकालमा विकासका पूर्वाधारको पर्याप्त विकास हुनेछ : नगरप्रमुख शेर्पा(अन्तरवार्ता)

विश्वको सर्वोच्च शिखर सगरमाथाले चिनिएको हिमाली पर्यटनको प्रमुख गन्तव्यका रुपमा रहेको प्रदेश १ को सोलुखुम्बु भूगोलका हिसाबले विविधता रहेको जिल्ला हो । सोलुखुम्बुको सदरमुकाम सल्लेरी समेत रहेको सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिका हो । कूल जनसंख्या २४ हजार ३२३ र क्षेत्रफल ५६५.०६ वर्ग किलोमिटर रहेको यो नगरपालिका कृषि, पर्यटन, जलविद्युत् उत्पादनका दृष्टिले महवपूर्ण मानिन्छ । २०७४ को स्थानीय तहको निर्वाचनमा यस नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पासँग नगरपालिकाको समग्र विषयमा सन्तोष राउतले गर्नुभएको कुराकानीको अंश :

तपार्ई निर्वाचित भएको साढे तीन वर्षको अवधिमा जिल्लाकै एकमात्र नगरपालिका के गर्दे छ ?

सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकामा हामीले निर्वाचित भएर काम गर्ने अवसर प्राप्त गरिसकेपछि निर्वाचनताका गरेका प्रतिबद्धता, घोषणा पत्र र  नगरबासीको चाहाना अनुसार तिब्र गतिमा विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर नगरपालिका अघि बढिरहेको छ । साथै, नगरपालिकाले आफ्नो संस्थागत विकास सँगसगै नगरपालिकाकोे तर्फबाट नगरबासीलाई सहज  र सरल रुपमा सेवा प्रवाह गर्दै नगरभित्र हुने सम्पुर्ण विकास निर्माणको क्रियाकलापमा शुसासन र पारदर्शिता कायम गरी सम्पुर्ण नगरबासीलाई स्थानीय सरकारको महसुस दिलाउने गरी नगरपालिका अघि बढिरहेको छ ।

स्थानीय तहको पहिलो जनप्रतिनिधिको रुपमा काम गर्दा नगरपालिका सञ्चालनमा के कस्ता समस्या देखिए ?

लामो समय पश्चात देशमा संघीय संरचना अनुसार स्थानीय तहको गठन भएको हुनाले संघीयताको मर्मअनुसार स्थानीय तह सञ्चालन गर्न ऐन, नियम कानुन र कार्यविधिको अभाव,  कर्मचारीको व्यवस्थापन ढिला सुस्ती र अस्तव्यस्त हुनु, लामो समयसम्म जनप्रतिनिधिको अभावमा कर्मचारीको भरमा स्थानीय सरकार सञ्चालन हुँदा कर्मचारीहरुको जनप्रतिनिधिको मातहतमा काम गर्ने प्रवृत्तिको विकास नहुँदा धेरै समस्या झेल्नुप¥यो । त्यसमाथि संघ र प्रदेशमा फरक दलको सरकार गठन भएको हुँदा र जिल्लाबाट प्रदेश र संघमा निर्वाचित ठूला जनप्रतिनिधिमा परिपक्व राजनीतिक संस्कारको विकास नभएकाले समन्वय र सहकार्यमा थप जटिलता बेहोर्नुप¥यो ।

हालसम्म नगरबासीले अनुभुति गर्ने काम केके भएका छन् ?

हरेक क्षेत्रमा उल्लेखनीय काम हुनुका साथै महत्वपुर्ण विकासको उपलब्धि हासिल भएको छ । सोलुदूधकुण्ड नगरपालिकाको प्रत्येक वडाको प्रत्येक टोलमा सडक सञ्जाल विस्तार भएको छ । सल्लेरी नयाँबजार क्षेत्रभित्रको मुख्य सडकको स्तरउन्नतीको काम अन्तिम चरणमा पुगेको छ । वडा नम्बर–४ फाप्लु, वडा नम्बर ५ सल्लेरी र वडा नम्बर ६ दोर्पु क्षेत्रको चुनौतिको रुपमा रहेको ढललाई व्यवस्थापन गर्न संघीय सरकारको खानेपानी मन्त्रालय मार्फत नेपालकै पहिलो पटक पाईलट प्रोजेक्टको रुपमा वाटर ट्रिटमेन्ट प्लान्ट सहितकोे ढव व्यवस्थापनको कामलाई अघि बढाइएको छ । सडकको पहूँच पुगेका टोलमा सहज यातायात सञ्चालनका लागि विभिन्न खोलामा हालसम्म चार वटा मोटरेबल पुल निर्माण गर्न सफल भएका छाँै भने अहिले ४ वटा निर्माणको अन्तिम चरणमा रहेका छन् । नगरपािलकाले साना ठुला ३ वटा झोलुङगे तथा ट्रस्ट ब्रिज निर्माण गरेको छ ।

नगरबासीले लामो समयदेखि खेप्नु परेको विद्युत अभावको समस्यालाई समाधान गर्दै उज्यालो नगर बनाउने अभियानका साथ प्रत्येक टोलमा विद्युतीकरणको कामलाई तिब्रता दिइएको छ । बर्षौंदेखि सल्लेरी क्षेत्रमा रहेको लोडसेडिङको समस्यालाई हल गर्न सफल भएका छौँ । हाल राष्ट्रिय विद्युत प्रसारण लाईन मार्फत वडा नम्बर ११ तिङलामा ९० प्रतिशत घरधुरीमा विद्युत बाल्न सफल भएका छौँ भने सोलुदूधकुण्ड नगरपालिकाको वडा नम्बर ८ केरुङ, ९ गोराखानी र १० टाप्टीङ क्षेत्रमा आगामी असार मसान्तभित्र विद्युत बाल्ने गरी ग्रामिण विद्युतीकरणको कामलाई तिब्रता दिइएको छ । विद्युतीकरणकै सवालमा लामो समयदेखि अलपत्र बनेको सोलुदूधकुण्ड नगरपालिका–२ स्थित अप्पर जुनबेसी हाईड्रोपावरको काम सुचारु गराउनका लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र नगरपलिका बिच सम्झौता गरी काम शुरु गरेका छौँ । नगरपालिकाको मुख्य मुख्य बजार क्षेत्रमा दुर्घटना जोखिम कम गर्नका साथै आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि सडक बत्ती र सिसि क्यामेरा जडान गरिएको छ ।

नागरिकले सञ्चारमा खेप्नु परेको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाको हरेक क्षेत्रमा नेपाल टेलिकमको टेलिफोन नेटवर्क र फोर जी इन्टरनेट सेवा सुविधा पु¥याउने काम भएको छ । त्यसैगरी सञ्चार सुविधालाई अझ सहज, सरल, प्रभावकारी र दिगो बनाउन नगरपालिकाको नेतृत्वको पहलमा ओखलढुङ्गादेखि पत्ताले हुँदै सल्लेरी–फाप्लु–टाक्सिन्दुडाँडाको टावरसम्म अप्टिकल फाईबर बिच्छ्याउने काम तिब्र गतिमा अघि बढेको छ । स्वास्थ्य क्षेत्रको कुरा गर्नुपर्दा जिल्ला अस्पताल फाप्लुको भवन अत्यन्तै जीर्ण बन्दै गएपछि नगरपालिकाको पहलमा ३० शैयाको भविष्यमा ५० शैयाको रुपमा विस्तार गर्न मिल्ने गरी अत्याधुनिक सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । त्यसैगरी नगरपालिकाको पहलमा वडा नम्बर ८ केरुङ र वडा नम्बर १ नुनथला टाक्सिन्दुमा स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । यसका साथै स्वास्थ्यको पहुँच बृद्धिका लागि नगरपालिकाको वडा नम्बर ४, ६ र १० मा आधारभूत सहरी स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । नगरपालिकाको प्राय सबै क्षेत्रमा नगरबासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि साना ठुला खानेपानी योजना सञ्चालन भईरहेका छन् । अहिले नगरपालिकाको फाप्लु–सल्लेरी–दोर्पुसम्मको खानेपानी योजना कार्यन्वयनका लागि संघीय सरकार खानेपानी मन्त्रालयमा पहल भइरहेको छ । जिल्लाको तल्लो क्षेत्रको मुख्य विमानस्थल मानिएको फाप्लु विमानस्थलमा हुने उडान अवतरणलाई अझ सुरक्षित बनाउन विमानस्थलको घेराबार, पार्किङस्थल निर्माण लगायतको स्तरउन्नती नेपाल नागरिक उडडयन प्राधिकरणको सहयोगमा सम्पन्न भएको छ । शिक्षातर्फ २०७२ सालको भूकम्पले क्षति पु¥याएको १७ भन्दा बढी विद्यालयका संरचना पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

सबै भन्दा ठुलो भूगोल भएको नगरपाकिलाको समस्या के के हुन् ?

सोलुदूधकुण्ड नगरपालिका भौगोलिक हिसाबले अत्यन्तै ठुलो छ । यहाँका बस्तीहरु छरिएर रहेको हुनाले हरेक बस्तीमा विकासको पूर्वाधारहरु पु¥याउन, नगरले उपलब्ध गराउनुपर्ने शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा लगायत अन्य प्रशासनिक सुविधा पु¥याउन समेत नगरपालिकाका लागि चुनौतिपुर्ण रहेको छ । यहाँका बहुसंख्यक नगरबासीहरु कृषि र पशुपालन व्यवसायमा संलग्न रहेको हुनाले एकिकृत बस्तीको विकास गर्न समेत अव्यवहारिक देखिन्छ ।

समाधानका लागि तपाईको प्रयास के रहयो ? साथै प्रदेश र संघीय सरकारबाट कस्तो सहयोग पाउनुभयो ?

नगर क्षेत्रमा देखिएका समस्या समाधानका लागि मैले आवश्यक पहल गरिरहेको छु । नगरपािलकाको सिमित स्रोत साधनलाई पारदर्शी र प्रभावकारी  ढङ्गले नगरपालिका र नगरबासीको हितमा परिचालन गरी अधितकम भन्दा अधिकतम विकासको प्रतिफल हासिल गरी त्यसको लाभ नगरबासीलाई दिलाउन मैले प्रयास गरिरहेको छु  । संघ र प्रदेश सरकारसँग  समेत समन्वय र सहकार्यका लागि पहल गरिरहेको छु  । किनभने नगरपालिकाको स्रोत साधनले मात्रै विकास निर्माणले पूर्णता पाउन गाह्रो छ । तर यो कुरा संघ र प्रदेश जस्ता ठुला सरकारले बुझ्न सकेको जस्तो मलाई लाग्दैन । त्यसमाथि माथिल्ला सरकारले स्थानीय सरकारलार्ई हेर्ने दृष्टिकोण त्यति सकारात्मक छैन । त्यसमा पनि फरक फरक दलबाट निर्वाचित भएको प्रतिनिधिले नेतृत्व गरेको स्थानीय तहलाई स्रोत साधन उपलब्ध गराउने कुरामा पुर्वाग्राही भएको महसुस भएको छ ।  यो पुर्वाग्राही मानसिकतालाई माथिल्ला सरकारले परिवर्तन गरी सबै तहको सरकारबीच समन्वय र सहकार्यको साथ अघि बढेको खण्डमा मात्रै सबै खाले समस्याको समाधान हुनुका साथै दिगो विकासको लक्ष्य र समृद्धि हासिल गर्न सहज हुने छ  ।

निर्वाचनका क्रममा  गरेका प्रतिबद्धता हाल सम्म कति पुरा भए ?

निर्वचनकाताका जनताका माझमा जाँदै गर्दा मैले त्यस्तो ठुलो प्रतिबद्धता जाहेर गरेको थिइन । मैले जे जति प्रतिबद्धता जाहेर गरेको थिए ती सबै प्रतिबद्धताहरु कपोकल्पित नभई यथार्थपरक नै थिए । त्यसकारण मैले अघि उल्लेख गरेका कुराहरु हेर्दाखेरी अपेक्षित भन्दा बढी नै काम छोटो समयमा पुरा गर्न सफल भएको छु जस्तो लाग्छ । जनताको सामु गरेका ती प्रतिबद्धता साढे तीन वर्षको अवधिमा नै पुरा गरे जस्तो लाग्छ । त्यसमा नगरबासी सन्तुष्ट हुनुहन्छ भन्ने कुरा मैले महसुस गरेको छु र बाँकी कार्यकालमा अझ थप केही गर्न सक्छु भन्ने कुरामा म विश्वस्त छु ।

तपाईको पाँच वर्षे कार्यकालमा सोलुदूधकुण्ड नगरपालिकाको स्वरुप कस्तो बनाउने सोच्नुभएको छ ?

मेरोे पाँच वर्षे कार्यकालको अवधिमा प्रत्येक नगरबासीको घरघरमा शुद्ध खानेपानीको पहुँच पुग्ने छ ।  प्रत्येक घरधुरीमा विद्युत पुगेको हुने छ । विगतको जस्तो सञ्चार क्षेत्रमा नागरिकले कुनै गुनासो गर्ने ठाउँ रहने छैन । प्रत्येक टोलमा सडक सञ्जल बाह«ै महिना सञ्चालन भई नागरिक लाभान्वित हुने छन् । प्रत्येक खोलामा मोटरेबल पुलको निर्माण भईसक्ने छ  । सडक र मोटरेबल पुल अभावमा नागरिकले यातायातमा सास्ती खेप्नुपर्ने छैन । गुणस्तरीय शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हुने छ । नेपाल सरकारको सहुलियत कर्जा प्रवाहमा उचित सहजीकरण गरि कृषि, पशुपालन  र पर्यटन क्षेत्रमा उद्यमशीलताको क्षेत्रमा युवा स्वरोजगार सिर्जना हुने छ ।

कोरोना महामारीका बिच के कस्ता काम गर्नुभयो ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरका कारणले सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण नागरिकको जनजीवन अस्तव्यस्त भई समस्यामा फसेको समयमा नगरपािलकाले आफ्ना नागरिकको जिवन बचाउन महत्वपूर्ण कदम चालेको थियो । जसमा नगरपालिका मातहतमा रहेका स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामाग्री र उच्च जोखिम भत्ता प्रदान गरी भाइरसको संक्रमण फैलिन नदिन उनीहरुलाई  अग्रभागमा परिचालन गरी कोरोना भाईरस सम्बन्धि जनचेतना अभिबृद्धि गर्र्ने, थर्मल गन, मास्क र सेनिटाईजर वितरण गराउने काम गरियो । नगरपालिकाले उद्धार गरेका वा शंकास्पद लक्षण देखिएका नागरिकलाई राख्नका लागि व्यवस्थित क्वारेन्टीन सञ्चालन गरी सेवा उपलब्ध गरेको थियो । कोरोनाको लक्षण देखिएको विरामीको उपचारका लागि कोभिड अस्पतालसम्म लैजाने र ल्याउने काम समेत निःशुल्क गरियो । कोरोनाका कारण देश विदेशबाट रोजगारी गुमाई गाउँ फर्किएका युवालाई स्वरोजगार बनाउने उदेश्यले नेपाल सरकारको सहुलियत कर्जा प्रवाह कार्याविधि अनुसार विभिन्न बैङ्कसँग कर्जा प्रवाह सहजीकरणका लागि सम्झौता गरी उद्यामशिलताको विकास मार्फत स्वरोजगारको सिर्जना गर्ने कार्यक्रमलाई अघि बढाइयो ।

तपाईको नगरपालिका भित्र पर्यटन क्षेत्रको विकासका लागि के कस्ता काम गर्नुभयो ।

पर्यटन क्षेत्रको विकासको कुरा गर्दा प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल ज्वालामाई देवीको मन्दिर करिब १२ करोड रुपियाँको डिपिआर तयार गरी कार्यान्वयनका लागि नगरपालिकाले .काम सुरु गरेको छ । त्यसका साथै पर्यटकीय क्षेत्र पत्तालेमा पर्यटन मन्त्रालयसँगको लागत साझेदारीमा सात करोड रुपियाँको लगानीमा पर्यटकीय पार्क निर्माण प्रक्रिया अघि बढेको छ । नगरपालिकाको पर्यटकीय गन्तव्य पिके, दूधकुण्ड लगायतको क्षेत्रमा पर्यटकीय पदमार्ग निर्माणको काम जारी रहेको छ । यससँगै पर्यटन प्रवद्र्धनका लागि साईक्लिङ रुटको विकास गरी साईक्लिनिङ खेलको माध्यमबाट घरेलु तथा बाह्य पर्यटनको प्रर्वद्धन गर्ने काम समेत भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार