सन्तोष राउत/सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा सात वटा रेड पाण्डाको छाला सहित तीन जनालाई पक्राउ गरिएको छ । मकालु बरुण राष्ट्रिय निकुञ्ज मध्वर्ती क्षेत्र बफर जोनभित्र दुर्लभ बन्यजन्तु रेड पाण्डा शिकार गर्ने महाकुलुङ गाउँपालिकाका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।
विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक मन्दिप चौहान नेतृत्वको टोलीले महाकुलुङ २ बस्ने ७६ बर्षिय जगतबहादुर राई, वडा नम्बर ३ बस्ने ५७ बर्षिय मितुरधन राई र ३ नम्बर वडा नै बस्ने ५६ बर्षिया कविरशंखर राईलाई घरैबाट पक्राउ गरेको हो ।
अभियुक्तहरुको साथबाट सात थान रेड पाण्डाको छाला र रेड पाण्डा मार्न प्रयोग गरिने पाँच थान पासो बरामद गरेको हो । चैत्र ९ गते साँझको समयमा पक्राउ गरिएका निजहरुलाई कानुनी कारबाहीको लागि मकालु बरुण राष्ट्रिय निकुञ्ज पठाइने प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।
उक्त अपारधमा संगठित गिरोह संलग्न रहेको र निजहरुले चीन र बर्मासम्म रेड पाण्डाको छाला तस्कर गरेर पुर्याउने गरेको तथ्य फेला परेको डिएसपि कटवालको भनाइ छ । अभियुक्तहरुलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को १ अनुसार पाँच लाख रुपियाँदेखि दश लाख रुपियाँसम्म जरिवाना वा ५ बर्षदेखि १५ बर्षसम्म कैद वा दुवै सजायको ब्यवस्था रहेको छ ।