सरकारलाई विज्ञको सुझावः तीन हप्ते लकडाउन गरौँ, एकजनालाई पनि घर बाहिर निस्कन नदिऔँ

युवा उमेर समूहका व्यक्तिहरुको लापर्वाहीका कारण कोरोना संक्रमण झनै बढ्न थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

जनस्वास्थ्य मापदण्ड पालना नगरेकै कारण युवा उमेर समूहका व्यक्तिहरुमा सबैभन्दा धेरै संक्रमण फैलिरहेको उनीहरुको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले कोरोना केही हैन भन्दै मास्क नलगाई हिँड्ने गरेका कारण युवाहरुमा संक्रमणदर बढेको बताउनुभयो ।

जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डेयले पनि युवा उमेर समूहका व्यक्तिहरुले मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने गरेका कारण उनीहरुमा कोरोना संक्रमणको दर बढेको बताउनुभयो ।

युवाहरुको लापर्वाही र बालबालिकाहरुको विद्यालय सञ्चालन भएका कारण संक्रमणको दर युवा र बालबालिकाहरुमा तीव्र रुपले बढेको उहाँले बताउनुभयो ।

अहिले नयाँ प्रजातीको कोरोना संक्रमण पहिलेको भन्दा ७० प्रतिशत तीव्र गतिमा फैलिने भएका कारण पनि युवा तथा बालबालिकाहरु बढी प्रभवित भइरहेको उहाँले बताउनुभयो ।

कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिनुमा सरकार र आम नागरिक दुवैको उत्तिकै योगदान रहेको डा. पाण्डेयको आरोप छ । उहाँले जनस्वास्थ्य मापदण्डको पालना जनताले पनि नगरिरहेको र सरकारले पनि भिडभाडजन्य गतिविधि नरोकेकोले स्थिति भवावह बन्न थालेको बताउनुभयो ।

कोरोना संक्रमणको दर भयानक गतिमा बढिरहेकोले नेपालका अस्पतालहरुले थेग्न नसक्ने अवस्था आउन सक्नेतर्फ पनि चिकित्सकहरुले सचेत गराएका छन् । डा. पाण्डेयले काठमाडौँमा पनि अस्पतालहरुले थेग्न नसक्ने अवस्था आइसकेका कारण अर्थपूर्ण लकडाउनमा जान सरकारलाई सुझाव दिनुभयो ।

तर जनस्वास्थ्यविद डा. बाबुराम मरासिनी फेरि पनि लकडाउन गरेर जनतालाई दुःख दिन नहुने मत व्यक्त गर्नुहुन्छ । जनस्वास्थ्य मापदण्डको पालना गराउन कुनै भूमिका नखेल्ने र स्थिति असहज बन्नेबित्तिकै लकडाउनमा जानुपर्ने अडान लिने स्वास्थ्य मन्त्रालयको रवैया शैलीप्रति उहाँले आपत्ति प्रकट गर्नुभयो ।

कोरोना रोकथामका लागि स्वास्थ्य मन्त्रालयले कुनै मेहनत नै नगरेको उहाँको आरोप छ । संक्रमण रोकथामका लागि परीक्षणको दायरा बढाउने हो भने मात्रै पनि लकडाउन आवश्यक नहुने उहाँ बताउनुहुन्छ ।

तर डा. पाण्डेले भने संक्रमणको चेन ब्रेक गर्न ३ हप्ते लकडाउनमा जानुपर्ने परिस्थिति आइसकेको बताउनुभयो । तीन हप्ते लकडाउनको अवधिमा एक जना मानिसलाई पनि घर बाहिर निस्कन नदिने हो भने संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न सकिने सरकारलाई उहाँको सुझाव छ ।

नेपालमा पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसका २,६१८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६८ वटा पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

यस्तै २४ घण्टामा थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा ३६८ जना संक्रमणमुक्त भएका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध सरकारले जारी गरेको मापदण्ड पालना नगर्नेलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगी कोरोनाको वर्तमान स्थिति, सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गरेको ब्रिफिङपछि ओलीले मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभएको हो ।

सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए ।

सम्बन्धित मन्त्रालय र सीसीएमसीका अधिकारीहरुको ब्रिफिङपछि ओलीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले थप के–के काम गर्नुपर्छ, त्यसबारे सीसीएमसीले छलफल गरेर मन्त्रिपरिषद्‍मा प्रस्ताव ल्याउनसमेत निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले जानकारी दिनुभयो ।

सरकारले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, जिम खाना, स्वीमिङ पुल लगायत भीडभाड हुने ठाउँलाई वैशाखभर बन्द गर्नुपर्ने, धार्मिक स्थलमा वैशाख मसान्तसम्म नृत्य पूजा मात्रै गर्नेरगराउन, एक पटकका २५ जनाभन्दा बढी भन्दा बढी उपस्थित नहुन र सबैलाई मास्क अनिवार्य गर्न वैशाख ६ गते आदेश जारी गरेको थियो ।

सपिङ मल, डिपार्टमेन्ट स्टोरमा पनि २५ जनाको मात्रै उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाउँदै सञ्चालन गर्नुपर्ने आदेशमा छ । त्यस्तै मेला, महोत्सव, जात्रा, व्रतबन्ध, मलामी लगायत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप गर्दा २५ जनाभन्दा बढी भेला हुन नहुने र पार्टी प्यालेसमा विवाह लगायतका कार्य गर्नुपर्ने भएमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई २५ जनाभन्दा बढी उपस्थित नहुनेगरी गर्न सकिने सरकारले आदेश जारी गरेको छ ।-nepalinetwork bata

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार