राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेपछि स्थानीय हर्षित


सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ फेराका १४७ घरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत बलेपछि स्थानीय हर्षित भएका छन् ।

विजुली बलेपछि स्थानीय ७५ वृद्ध वर्षिय काजी शेर्पाले खुशी हुँदै भन्नुभयो, सानो पेल्ट्रिक सेट बलिरहँदा ठूलो लाईन बाल्न पाउँदा धेरै ढुक्क भएको छ । यसअघि बत्ति मात्र मुश्किलले बाल्ने गरेकोमा अब अन्य काम गर्न पनि सजिलो हुने उहाँले बताउनुभयो ।

त्यस्तै, स्थानीय हिरा विकले पनि दिगो र भरपर्दो विजुली बाल्न पाउँदा खुशीको सीमा नै नरहेको बताउनुभयो । दुर्गम गाउँमा राष्ट्रिय प्रसारण लाइनको विद्युत बाल्न पाइएला भनेर कल्पना पनि नगरेको बताउँदै विकले अब विद्युतीय व्यवसाय गर्न सजिलो हुने बताउनुभयो ।

नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पाले उज्यालो नगर बनाउने अभियानमा नगरपालिका लगातार लागिरहेको भन्दै विद्युतको अधिकतम् उपयोग मार्फत उत्पादनमूलक क्षेत्रमा प्रयोग गरी आयआर्जनको माध्यम बनाउन आग्रह गर्नुभयो । दिगो विद्युतको व्यवस्थापन भएकाले कलकारखाना, साना तथा मझौला उद्योग सञ्चालन गरी रोजगार सिर्जना हुने भएकाले यसबाट स्थानीयले अधिकतम फाइदा लिनुपर्ने उहाँको भनाइ छ ।

यसै गाउँमा बस्ने वडाध्यक्ष मिङमारदोर्जी शेर्पाले आफू गाउँको विकासमा सधै लागिरहेको बताउनुभयो । नगरपालिकाको २१ लाख ६१ हजार ७०५ रुपियाँ, सल्लेरी च्याल्सा विद्युत कम्पनिको नौ लाख १२ हजार ५७६ रुपियाँ तथा पाँच लाख ४६४ रुपियाँ जनश्रमदान गरी जम्मा ३५ लाख ७४ हजार ७४५ रुपियाँको लागत विद्युत विस्तार भएको वेनी फेरा विद्युत विस्तार समितिका अध्यक्ष सुम्बा शेर्पाले जानकारी दिनुभयो ।

एल.टी लाईन विस्तारमा गैरसरकारी संस्था मेड नेपालले पनि सहयोग गरेको छ । विद्युत विस्तार समितिका अध्यक्ष शेर्पाका अनुसार विजुली बलेसँगै आगामी दिनमा मिल, कागज उद्योग र फर्निचर उद्योग सञ्चालनमा ल्याउने योजना रहेको छ । विद्युतले गाउँबासीमा अहिलेसम्मकै धेरै खुशी दिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार