सोलुखुम्बुमा भूकम्पले क्षतिग्रस्त ८८ प्रतिशत घर ठडिए

सन्तोष राउत/सोलुखुम्बु। भूकम्प गएको छ वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८८.५ प्रतिशत घर निर्माण भएका छन् । जिल्लाभरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार २३७ घर प्रमाणित भएकोमा पुनर्निर्माणतर्फ १२ हजार २८५ र प्रबलीकरणतर्फ ९५२ घर रहेका थिए ।

पुनर्निर्माणमा परेका भूकम्प पीडितमध्ये वैशाखको पहिलो सातासम्ममा आवास निर्माण सम्पन्न गरी १० हजार ८७८ पीडितले तेस्र्रो किस्ता रकम लिइसकेका छन्, जुन ८८.५४ प्रतिशत हो । कुल लाभग्राही मध्ये १२ हजार २८४ अर्थात ९९.९९ प्रतिशतले जग हाल्नका लागि पहिलो किस्ता बापतको पचास हजार रकम लिएका छन् भने घरको जग निर्माण गरेर ११ हजार ७७६ लाभग्राहीले दोस्रो किस्ताको एक लाख पचास हजार रुपियाँ रकम बुझेका छन् ।

प्रबलीकरणतर्फ ९५२ लाभग्राहीले प्रथम किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालय सोलुखुम्बुका कम्प्यूटर अपरेटर माया शेर्पाले जानकारी दिनुभयो ।

हालसम्म आवास पुर्ननिर्माणका लागि करिब तीन अर्ब ७० करोड रुपियाँ भन्दा बढी रकम निकासा भइसकेको कार्यालयले जनाएको छ । आवास पुनःनिर्माणका लागि पहिलो किस्ता बापत पचास हजार रुपियाँ पाउने भुकम्प पीडितले मापदण्डअनुसार घरको जग तयार गरेपछि दोस्रो किस्ता बापत एक लाख ५० हजार रुपियाँ र घर पूर्ण तयार गरेपछि बाँकी एक लाख रुपियाँ पाउने प्रावधान छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न समयको प्राधिकरणको निर्णयबाट पनि लाभग्राहीमा नपरेकाहरुमध्ये पुनरावेदन गर्न चाहनेलाई गएको भदौमा जिल्ला आयोजना कार्यान्वयन इकाईमार्फत पुनरावेदन गर्न सक्ने अन्तिम मौका दिएको थियो । त्यसको पनि छनोट शुरु भएर करिब ४० जना लाभग्राहीमा सूचिकृत भएको अपरेटर शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार