नुम्बुर हिमालको फेदमा फोरजी सेवा 


सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीय क्षेत्र नुम्बुर हिमालको काखमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ । सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दु डाँडामा निर्माण गरिएको फोरलेग टावरबाट फोरजी सेवा सञ्चालनमा ल्याइएको छ ।

नगरपालिकाको सक्रियतामा नेपाल टेलिकमद्वारा वितरित फोरजी सेवा सञ्चालनमा ल्याइएको वडाअध्यक्ष छोङवा लामा शेर्पाले जानकारी दिनुभयो । इन्टरनेट सेवाबाट बञ्चित त्यसक्षेत्रका नागरिकहरु सेवा शुरु भएसँगै हर्षित बनेका छन् ।

यसअघि राम्रो टेलिफोन समेत नचल्ने अवस्थामा केही समयअघि मात्र नेपाल टेलिकमको टावर विस्तार भएपछि सञ्चार सुविधा सहज भएको सम्झँदै स्थानीय पासाङ शेर्पाले अब तीव्र गतिको इन्टरनेटले झनै खुशी ल्याएको बताउनुभयो ।

खुम्बु जाने पदमार्गमा पर्ने पर्यटकीय क्षेत्र भएकाले त्यस क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुनेछ । यस क्षेत्रमा सडक यातायात तथा फाप्लु विमानस्थलमा ओर्लेर पैदल जाने पर्यटकका लागि अब सुविधा थपिएको पर्यटन व्यवसायी बताउँछन् ।

टाक्सिन्दुमा रहेको टावरबाट शुरु फोरजी सेवाले सोलुदूधकुण्ड नगरपालिका–२ को तल्लो क्षेत्र, माप्य दूधकोशी गाउँपालिकाको वडा नं १, २ र ६ र खुम्बु पासाङल्हामू गाउँपालिकाको वडा नं १ का नागरिक लाभान्वित हुने मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो ।

लामो समयको प्रयासपछि टाक्सिन्दुबाट फोरजी सेवा शुरु गर्न सफल भएको उहाँको भनाइ छ । पत्तालेदेखि टाक्सिन्दुसम्म फाइवर विच्छ्याउने काम पनि तीब्र गतिमा भईरहेको छ । त्यो काम सम्पन्न भएपछि नागरिकले गुणस्तरीय सञ्चार सुविधा उपभोग गर्न पाउनेछन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार