नेपालमा कोरोनाको दोस्रो लहरमा कुन उमेर समूहका भए बढी संक्रमित ?

काठमाडौं । सरकारको पछिल्लो आँकडाले नेपालमा २० देखि ४० वर्षको उमेर समूहका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको दर उच्च रहेको पाइएको छ । त्यस्तै, ३० देखि ५० वर्षको उमेर समूहका व्यक्तिको ज्यान कोरोनाका कारण जाने क्रम बढ्ने रहेको विज्ञहरूले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको गत वर्ष चैत १ गतेदेखि यो वर्ष वैशाख १६ गतेसम्मको उमेर समूह अनुसारको सङ्क्रमण र मृत्युको तथ्याङ्कमा यस्तो देखिएको हो ।

सङ्क्रामक रोगसम्बन्धी एक विशेषज्ञले पछिल्लो आँकडालाई अस्वाभाविक भन्दै कोभिड–१९ ले नेपालमा फरक खालको स्थिति देखाउनु चिन्ताजनक भएको बताएका छन् ।

तर अर्का एक विज्ञले व्यापक स्तरमा भाइरस फैलिएकाले पछिल्लो अवस्था देखा परेको हुनसक्ने उल्लेख गर्दै सङ्क्रमणबाट बढी प्रभावित भनिएका उमेर समूहमा मोटोपन, मधुमेह र उच्च रक्तचाप जस्ता समस्या रहेको टिप्पणी गरेका छन् ।

coronavirus.jpg

स्वास्थ्य अधिकारीहरूले कोभिड–१९ को सङ्क्रमण दर नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनामा जोड दिँदै त्यसबाट मात्र बढ्दो सङ्क्रमणका घटनाले निम्त्याउन सकिने चुनौती सम्बोधन गर्न सकिने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयको आँकडाअनुसार चैत्र १ गतेदेखि वैशाख १६ गतेसम्म कोरोनाका कारण ज्यान गुमाउने सबैभन्दा बढी व्यक्ति ५० वर्षभन्दा माथिका छन् ।

त्यसमा ५० देखि ५९ वर्षका ५० जना, ६० देखि ६९ वर्षका ४७ जना र ७० वर्ष वा सोभन्दा माथिका ६३ जना रहेको उल्लेख छ ।

उक्त अवधिमा कोरोनाका कारण नेपालमा ३० देखि ३९ वर्ष उमेर समूहका २० जना र ४० वर्षदेखि ४९ वर्ष उमेर समूहका ४४ जनाको मृत्यु भएको जनाइएको छ ।

कोरोनाको पछिल्लो लहर नेपालमा पनि घातक बन्दै गएको भन्दै चिन्ता व्यक्त भइरहँदा सरकारले तयार पारेको तथ्याङ्कले कोभिड १९ का कारण १० देखि १९ वर्षको उमेर समूहका २ जना र २० देखि २९ वर्ष उमेर समूहका ५ जनाको ज्यान गएको देखाएको छ ।

डेढ महिनाको अवधिमा सबैभन्दा बढी सङ्क्रमण २० देखि ३९ वर्षका व्यक्तिहरूमा पुष्टि भएको पाइएको छ ।

उक्त आँकडामा २० देखि २९ वर्षको उमेर समूहका व्यक्तिमध्ये १० हजार ४ सय ५८ जना र ३० देखि ३९ वर्षको समूहका १० हजार २ सय ८७ जनालाई सङ्क्रमण देखिएको भनिएको छ ।

६० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिभन्दा बढी सङ्क्रमण ४० देखि ५९ वर्षका व्यक्तिहरूमा पाइएको छ । ४० देखि ४९ वर्ष उमेर समूहका ७ हजार ६ सय १७ र ५० देखि ५९ वर्ष समूहका व्यक्तिमा ५ हजार २ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

सो अवधिमा ६० देखि ९० वर्षभन्दा माथिको उमेर समूहका ४ हजार २ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

उक्त तथ्याङ्कले ९ वर्षभन्दा मुनिका ८ सय ९० जनामा र १० देखि १९ वर्षका ३२ सय ९२ जनामा सङ्क्रमण देखिएको पनि उल्लेख गरेको छ ।-  नेपाली नेटवर्कबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार