नगरपालिकाले ४ स्थानमा क्वारेन्टीन र १० थान अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने

सोलुदुधकुण्ड नगरपालिकाले कोभिड संक्रमणलाई मध्यनजर गर्दै ४ स्थानमा क्वारेन्टीन व्यवस्थापन गर्ने भएको छ ।

नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सोलुखुम्बु पोलिटेक्निक ईन्ष्टिच्युट फाप्लु, पर्वतारोहण प्रतिष्ठान गार्मा, कर्मचारी आवास गृह सल्लेरी र हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा गरि ४ स्थानमा व्यवस्थित क्वारेन्टीन सञ्चालन गरि २४ सै घण्टा स्वास्थ्यकर्मी र नगर प्रहरी तैनाथ गर्ने निर्णय गरेको हो ।

बैठकले कोभिड रोकथाम तथा नियन्त्रणका लागि १० थान अक्सिजन सिलिण्डर र १० थान नै अक्सिजन कन्सण्ट्रेटर लागयतका स्वास्थ्य सामाग्री तत्काल खरिद गर्ने निर्णय गरेको छ । सार्वजनिक स्थानमा मानिसहरुको भिडभाड हुदा रोग फैलन सक्ने भन्दै अत्यावश्यक बाहेकका सेवा सबै वडा कार्यालयबाट बैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरिएको नगर प्रवक्ता शारदामाया तामाङले जानकारी दिनुभयो ।

कार्यपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ वटा विद्यालयमा भवन निर्माण गर्ने, ५ वटा विद्यालयलाई नविन प्रविधिको प्रयोग र २ वटा विद्यालयलाई शैक्षिक सामागृ खरिदका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।

यसका अतिरिक्त वडा नम्बर २ मा रहेको गुम्बा, सलुङ तथा फुत्र्याङ गाउँको १० घरधुरीमा सोलार बत्ति जडान गरिने मेयर शेर्पाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार