देशभर कोरोना संक्रमितको संख्या अत्यधिक बढ्दै जाँदा मुलुकको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्थामा पुगेको छ । बढ्दो कोरोना सङ्क्रमणसँगै अक्सिजनको आपूर्तिमा आएको कमीले स्वास्थ्य क्षेत्रमा जटिल समस्या देखिन थालेको छ ।
अक्सिनजको अभावमा मृत्युदर बढ्दो छ भने जनमानसमा त्रासको वातावरण देखिएको छ । अहिले एक लाखभन्दा बढी संक्रमित होम आइसोलेशनमा छन् ।
चिकित्सकहरुका अनुसार होम आइसोलेसनमा बस्ने बिरामीलाई बढी निगरानी गर्नुपर्छ । अन्य रोगमा अक्सिजनको मात्रा बिस्तारै घट्ने भएपनि कोरोना संक्रमित भएका बिरामीमा एकैचोटी ह्वत्तै अक्सिजनको मात्र घट्ने हुनाले अझ बढी होम आइसोलेसनका बिरामीलाई निगरानीमा राख्नुपर्ने जनस्वास्थ्यविद् डा. सुजन मरहठ्ठा बताउनुहुन्छ ।
अक्सिजनको मात्र थाहा पाउन पल्सअक्समिटर जरुरी हुन्छ । होम आइसोलेसनमा रहेका संक्रमितले पल्सअक्समिटर अनिवार्य किनेर राख्नुपर्ने अर्का जनस्वास्थ्यविद डा. केदार बराल सुझाव दिनुहुन्छ । पल्सअक्समिटर विभिन्न औषधि पसलमा पाइने र किन्दा त्यसको गुणस्तरीयता किनेकै ठाउँमा जाँच्नुपर्ने उहाँको भनाइ छ । स्वास्थ्य मानिसमा जाँच्नुपर्ने र समान्यतय स्वास्थ्य व्यक्तिमा ९५ भन्दा माथि अक्सिजनको मात्र हुनुपर्ने डा. बराल बताउनुहुन्छ ।
डा. बरालकै कुरामा जोड दिँदै डा. शेरबहादुर पुनले पनि पल्सअक्समिटर राख्दा बिरामीको अवस्थाबारे सजिलै थाहा पाउन सकिने बताउनुहुन्छ । अक्सिजनको मात्रा कम हुँदै गए बिरामीमा टाउको अत्यधिक दुख्ने, ओठ निलो हुँदै जाने, छाती दुख्ने र श्वासप्रश्वासमा समस्या जस्ता लक्षण देखा पर्ने डा. पुन बताउनुहुन्छ ।
अहिले जनशक्तिको अभाव खासै नभएपनि अक्सिजनको चरम अभाव स्वास्थ्य क्षेत्रले झेल्दै आएको छ । यस्तो अवस्थामा स्वास्थ्यकर्मीले बिरामीको स्वास्थ्य अवस्था बुझेर सुसूचित गराउने र परामर्श दिन मात्र सक्ने डा. सुजन मरहठ्ठा बताउनुहुन्छ । अहिलेको अवस्थामा सम्बन्धित निकायले नै सबै अस्पतालहरुमा अक्सिजनको बन्दोबस्त गर्नुपर्नेमा डा. मरहठ्ठा जोड दिनुहुन्छ ।
केहीदिन यता संक्रमितको संख्यासँगै मृत्युदर पनि केही घटेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । तर अहिले नै यसबाट ढुक्क भएर लापरबाही गरिहाल्न नहुने जनस्वास्थ्यविद्को सुझाव छ ।
तर, सरकारले जारी गरेका सुरक्षा मापदण्डको पालना गर्ने, समाजिक दूरी कायम राख्दै मास्क र सेनिटाइजरको प्रयोग गरे आफूलाई सङ्क्रमित हुनबाट बचाउन सकिन्छ ।
यदि सङ्क्रमित भइहालेमा पनि आत्तिहाल्नुहुँदैन । आत्तिनाले शरीरमा अक्सिजनको माग झन् बढ्छ र शरीरमा अक्सिजन कमी हुन जान्छ । सङ्क्रमित भइहालेमा मेडिटेसन गर्ने, व्यायाम गर्ने, सकभर घोप्टो परेर सुत्ने गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।-nepalinetwork