प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले आफ्नो ‘मुड अफ’ भएको बताएका छन्।
मन्त्रिपरिषदको बैठकमा बोल्दै उनले सात मन्त्रीको नियुक्तिलाई बदर गर्ने फैसलाले आफू ‘मुड अफ’मा भएको बताएका हुन्।
सर्वोच्च अदालतले एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित सात मन्त्रीको नियुक्तिलाई बदर गरिदिएको थियो।उनीहरू गैर-सांसद भएकोले उनीहरूको नियुक्ति बदर गरेको हो।
यही प्रसंगमा प्रधानमन्त्री ओलीले अब संसदमा विश्वासको मत नलिने समेत मन्त्रीहरूलाई जानकारी गराएको एक मन्त्रीले बताए।
‘आजको फैसलाले मेरो ‘मुड अफ’ भएको छ। अब संसदमा विश्वासको मत लिएर काम छैन जस्तो लागेको छ। यसअघि पनि विश्वासको मत आएको थिएन,’प्रधानमन्त्रीको भनाइ उदृत गर्दै ती मन्त्रीले भने,’अब नआउने विश्वासको मतका लागि किन प्रयास गर्ने? धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्नुपर्ला।’
प्रधानमन्त्री ओलीले वैशाख ३० गते संविधानको धारा ७६ को उपधारा ३ अन्तरगत सपथ लिएका थिए।
प्रतिनिधिसभाको सबभन्दा ठूलो दलको हैसियतले उनले यो धारा अन्तर्गत सरकार बनाएका हुन्।
अब उनले विश्वासको मत नपाएमा उपधारा ५ अन्तर्गत सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नुपर्छ।-setopati