काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनावको घोषणा गरेपछि सामाजिक सन्जालमा आक्रोशपूर्ण प्रतिक्रियाहरु आइरहेका छन् ।
कतिपयले कोरोना महामारीविरुद्ध लड्ने बेला अर्बौं रुपैयाँ खर्चेर चुनावमा जाने निर्णयको विरोध गरेका छन् भने कतिले चुनावको घोषणा अनवरत शासन गर्ने सोचबाहेक केही नभएको प्रतिक्रिया दिएका छन् ।
केही भने फेरि यो मुद्दा सर्वोच्च अदालतमा जाने र सर्वोच्चले लिने निर्णयले नेपाली राजनीतिको भावी बाटो तय गर्ने अनुमान गरेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताउनुभएको छ । उहाँले आज प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।
शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु भन्दै फेसबुकमा लेख्नुभएको छ ।
यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामारीको चपेटामा रहेका जनतालाई निर्मम उपहारको रुपमा मध्यावधि निर्वाचन दिइएको टिप्पणी गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई सदर गर्दै मध्यावधि निर्वाचन घोषणा गरेलगत्तै प्रवक्ता शर्माले ट्वीट गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदमलाई इतिहासको भिन्न कोतपर्वको संज्ञा दिनुभएको छ ।
यस्तै कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिले संविधान च्यातेको टिप्पणी गर्नुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै राष्ट्रपतिले आफ्नो पदको गरिमा र मर्यादा कुल्चिएको पनि आरोप लगाउनुभएको हो ।
यता काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री खड्ग प्रसाद ओली र राष्ट्रपति विद्या भण्डारीलाई अधर्मी जोडीको संज्ञा दिनुभएको छ ।
“सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्, महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्, ”सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ ।
यता जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको सिफारिसमा राष्ट्रपतिले नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च रहेको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै भट्टराईले यो मध्यावधि चुनाव नभएर संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको सामाजिक सञ्जाल ट्विटरमा बताउनुभएको हो ।
यसैबीच नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी ओलीको गोटी बनेको आरोप लगाउनुभएको छ ।
मध्यराति राष्ट्रपति भण्डारीले संसद् विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि नेता पुनले सामाजिक सञ्जालमार्फत भण्डारी ओलीको गोटी बनेको आरोप लगाउनुभएको हो ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारको नेतृत्वको दाबी पनि अस्वीकृत भएका प्रधानमन्त्रीले संसद भंग गर्न मिल्छ ? भनेर प्रश्न गर्नुभएको छ ।
यद्यपि प्रश्नहरु फेरि पनि सर्वोच्च अदालतमा ठोक्किएको भन्दै उनले सर्वोच्चले गर्ने निर्णयले भावी बाटो तय गर्ने बताउनुभएको छ । उहाँले भूराजनीतिक चलखेल, आन्तरिक राजनीति र व्यक्तिहरुको महत्वाकांक्षाको असर सर्वोच्चमा नपरोस् भन्ने कामना पनि गर्नुभएको छ ।
जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षितले भने कोरोनाविरुद्धको खोप विना चुनावमा जान नपाइने उल्लेख गर्नुभएको छ । उहाँले ट्वीटरमा ‘म राजनीति बुझ्दिनँ, तर विकसित घटनाक्रममा मेरो एकल माग: अधिकांश जोखिम समूह लगायतलाई विनाखोप चुनावमा जान पाइन्न ।’ भन्दै लख्नुभएको छ ।
यता लेखक मुमाराम खनालले कथित निर्वाचनको कुरा गरिएको टिप्पणी गर्नुभएको छ ।-नेपाली नेटवर्क