बढ्यो कृषिको बजेट, ४५ अर्ब ९ करोड विनियोजन

सरकारले कृषि क्षेत्रका लागि बजेट बृद्धि गरेको छ । सो क्षेत्रका लागि ४५ अर्व ९ करोड रुपियाँ विनियोजन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार वजेट प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभयो ।

त्यस्तै, कृषि खेतिका लागि रासायनिक मल खरिद गर्न १२ अर्व रुपियाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, अर्गानिक खेतीलाई प्रोत्साहन दिनमा आवश्यक सुविधा उपलब्ध गराउने नीति सरकारले लिएको छ । सोहीअनुसार खाद्य भण्डार निर्माणका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने प्रतिवद्धता अर्थमन्त्री पौडेलले गर्नुभयो । सोहीअनुसार प्रदेश २ अन्तर्गत रहेको सुनकोसी मरिन टनेल निर्माणका लागि २ अर्व ४६ करोड रुपियाँ बजेट सरकारले व्यवस्था गरेको छ ।

प्रत्येक प्रदेशमा भूमि बैंक निर्माण गरी आगामी आर्थिक वर्षमा सञ्चालनमा ल्याइने सरकारले तयारी गरेको छ । त्यस्तै, आगामी तीन वर्षभित्र सबै नेपाली भूभागको नाप नक्साङ्कन गरिसक्ने तयारी गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । त्यस्तै आगामी वर्षदेखि राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया शुरु गरिने सरकारले बताएको छ । सोहीअनुसार गरिबी निवारण कोषलाई खारेज गरेको छ । भूमिहिनलाई आगामी वर्षमा जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने नीति सरकारले लिएको छ ।

नेपाललाई आकर्षक पर्यटक गन्तव्यकोरुपमा विकास गर्ने नीति सरकारले लिएको छ । पर्यटन पूर्वाधार निर्माण गरी विदेशी तथा स्वदेशी पर्यटक आकर्षित गर्न सरकारले आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताउनुभयो ।

उहाँकाअनुसार पर्यटन क्षेत्र विकासका लागि संस्कृति पर्यटन मन्त्रालयका लागि २७ अर्व ८७ करोड रुपियाँ विनियोजन गरिएको उहाँले बताउनुभयो । त्यस्तै, रारा, सेफोक्सुन्डो, इलामको माईपोखरी, कैलालीको बेहडाबाबा ताल क्षेत्रको पर्यटकीय क्षेत्र विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो ।-गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार