अध्यक्षकै सक्रियतामा घरदैलोमै परीक्षण तथा उपचार

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा गाउँपालिकाका अध्यक्षकै सक्रियतामा कोरोना सङ्क्रमितको परीक्षण तथा उपचार घरघरमा भइरहेको छ । विरामीको उपचारमा स्वास्थ्यकर्मीसँगै अध्यक्ष डुफकुमार बाँस्तोला सङ्क्रमितको घरमै पुग्ने गर्नुभएको हो ।

उहाँले विरामीको अवस्था बुझ्ने सङ्क्रमितलाई ढाडस दिने, समस्या र गुनासो सुनेर समस्या समाधानका लागि तत्काल पहल गर्ने गरेको स्थानीयहरुको भनाइ छ । श्वासप्रश्वासमा समस्या देखिए सङ्क्रमितको घरमै पनि अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था मिलाउने गरिएको छ ।
अध्यक्ष बाँस्तोलाले भन्नुभयो, सम्पुर्ण ध्यान कोरोना नियन्त्रणमा लगाएका छौँ, घरदैलोमै पुगेर उपचार गर्ने, आवश्यक परामर्श दिने काम चलिरहेकै छ, म आफैँ पनि दैनिक सङ्क्रमितको घर घरमा पुग्छु र उहाँहरुको कुरा सुन्छु अनि ढाडस दिएर फर्कन्छु । उहाँ नेकपा एमालेबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ ।

स्वास्थ्यकर्मीहरुले सङ्क्रमितको लक्षण र समस्याअनुसार औषधि र परामर्श दिने गरेका छन् भने जनप्रतिनिधिले अवस्था बुझेर मनेबल उच्च बनाउन हौसला दिने भए पनि विरामीलाई बाँच्ने हिम्मत मिलेको वडा नम्बर दुई कोरोना जित्नु भएका द्रोण बास्तोलाले बताउनुभयो । होम आइसोलेसनमा बस्दा जनप्रतिनिधिले पटक पटक भेट्न आउँदा कोरोना जित्ने आत्मबल बढेको उहाँको भनाइ छ । नयाँ विरामी चेकजाँच गर्न र होम आइसोलेसनमा बसेकाको अवस्था बुझ्न घरघरमा जानु अध्यक्ष बाँस्तोलाको दैनिक काम बनेको छ ।

त्यस्तै, वडा नं. १ का अध्यक्ष रमेशकुमार राई पनि प्रत्येक सङ्क्रमितको घरघरमा पुगेर अवस्था बुझेको स्थानीयले बताए । उहाँ बिरामीको घरमा जाने, परीक्षणका लागि समन्वय गर्ने र निरन्तर सम्पर्क गरिरहने गर्नुहुन्छ । स्थानीय सरकारको जनमैत्री कामको कोरोना संक्रमितले प्रशंसा गर्दै आएका छन् ।

नेचाका रोहित बास्तोलाका छोरा सङ्क्रमित बनपछि अवस्था जटिल बन्न थालेपछि गाउँपालिकाले घरमै अक्सिजन जडान गरिदिएर नयाँ जीवन दिएको परिवारले बताएको छ । सङ्कटको बेलामा गरिएको सहयोग मननयोग्य हुन्छ भनेझैँ कोरोनासँग लडिरहेको बेला कसैले सञ्चो विसञ्चो सोधे मात्रै पनि आराम महसुस हुने कोरोना सङ्क्रमितले बताउने गरेको स्थानीय धन कुमार ढुङ्गेलले बताउनुभयो ।

स्थानीय सरकार र जनप्रतिनिधिको पुरापुर सहयोग पाएकाले सङ्क्रमितको उपचार र परामर्श होम आईसोलेसनमै गरिरहेको स्वास्थ्य शाखा संयोजक यूवराज शर्माले बताउनुभयो । नेचासल्यान गाउँपालिकामा करिब एक सय भन्दा बढी सङ्क्रमित पहिचान भएका छन् भने अधिकाँसले कोरोलाई परास्त गरेका छन् । गाउँपालिकामा अक्सिजन सहितको आइसोलेसन सेन्टर समेत तयार रहेको छ । पिसिआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार