देशभर मनसुन सक्रिय, पूर्वानुमान महाशाखा भन्छ– ‘बाढी/पहिरोको जोखिम बढ्यो, सतर्क रहौँ’

मनसुन सक्रिय भएसँगै जारी वर्षाका कारण देशभरका नदी तथा खोलाहरूमा बहाव बढेको छ । ठाउँ-ठाउँमा भारी वर्षासमेत भएपछि जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बाढीबाट जोगिन आह्वान गरेको छ ।

कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि ती क्षेत्रमा खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरेपानी र नवलपरासीको अरुण खोला स्टेशनमा भारी वर्षा मापन भएपछि साइरन बजाइएको महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको सूचनामा विभिन्न प्रदेशका ४१ जिल्लाका नदी तथा खोला एवं तटीय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च छ ।

बिहीबारसम्म कालीगण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदीलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । ती नदीहरुमा बहाव बढ्ने र बाढीको सतह सतर्कता आसपास पुग्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशखाका अनुसार बारा, पर्सा, रौतहट, काठमाडौं, रसुवा, सिन्धुपाल्चोक, चितवन, नुवाकोट, मकवापुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपरासी, पाल्पा, कपिलवस्तु, सुर्खेत, सल्यान, दार्चुला, अछामसहितका विभिन्न ४१ जिल्लामा बाढी पहिरोको खतरा रहेको छ ।

यस्तै, लगातारको वर्षापछि झरेको पहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ ।

पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो झरिरहेकाले तत्काल खुलाउन समस्या रहेको ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ । वर्षा रोकिएलगत्तै खुलाउन प्रयास गरिने उहाँले बताउनुभयो ।

यसैगरी, म्याग्दी र मुस्ताङ जोड्ने बेनी–मालढुङ्गा सडकसमेत अवरुद्ध भएको छ । वर्षा रोकिनेबित्तिकै सबै सडकमा डोजर लगाएर खुलाइने भएको छ ।

सडक बन्द हुँदा बाग्लुङ, म्याग्दी र मुस्ताङबाट छुटेका मालवाहक सवारी, एम्बुलेन्सलगायत खाद्यान्न र बिरामी बोकेका सवारी साधन अलपत्र बनेका छन् भने अन्यत्रबाट आएका सवारी साधनसमेत पर्वतको सहस्रधारामा अलपत्र बनेका छन् ।

त्यसैगरी, दक्षिण पर्वतको हुवास–वालिङ सडक र सदरमुकाम जोड्ने दक्षिण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस क्षेत्रमा शनिबारदेखि जारी वर्षा रोकिएको छैन ।

यस्तै राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले यो वर्ष मनसुनबाट झण्डै १७ लाख घरपरिवार प्रभावित हुने अनुमान गरेको छ ।
बाढी र पहिरो जस्ता विपद्बाट १६ लाख ८७ हजार ४ सय ९७ घर परिवार प्रभावित हुने अनुमान राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणले गरेको हो ।

नेपालमा वर्षेनी बाढी पहिरो लगायतका विपदमा परी सयौंको मृत्यु हुने गरेको छ ।-nepalinetwork

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार