कोरोना महामारी : भुटानमा डाक्टर प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको जोडीले गरेको चमत्कार !

सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको कोभिड–१९ महामारीपछि भुटानले विदेशी पर्यटकलाई आफ्नो देशमा प्रवेश खुला त गरेको छैन । तर पोस्ट-कोभिड युगमा पर्यटकलाई हार्दिक स्वागत गर्ने दक्षिण एसियाकै पहिलो मुलुक भने भुटान नै हुनेछ ।

सन् २०१८ को तथ्यांकअनुसार ७ लाख ५४ हजार ३ सय ९३ जनसंख्या रहेको सानो हिमाली मुलुक भुटानमा अहिलेसम्म ४ लाख ८२ हजार ७ सय १६ जनाले खोप लगाइसकेका छन् । यो कुल जनसंख्याको लगभग ६४ प्रतिशतभन्दा बढी हो । बालबालिकालाई छाडेर भुटानमा १६ दिनमै लगभग शतप्रतिशत वयस्कले खोप लगाइसकेका छन् । कोरोना खोप अभियानमा भुटान छैटौं नम्बरमा छ ।

वर्ल्डमिटर्सडटकमको तथ्यांक केलाउने हो भने त्यहाँ कोरोनाबाट एक जनाको मात्र मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म १ हजार ८ सय ५४ जनामा कोरोना पोजेटिभ देखिएकोमा १ हजार ५ सय १ जना निको भइसकेका छन् । यो अपत्यारिलो तथ्य त्यहाँको सरकारको चुस्त-दुरुस्त व्यवस्थापनकै कारण सम्भव भएको हो ।

भुटानको खोप कूटनीति बुझेपछि तपाईंलाई नेपालको तथ्यांकबारे बुझ्न पक्कै मन लाग्नेछ । नेपालमा अहिलेसम्म दुवै डोज खोप पाउनेको संख्या २.४ प्रतिशत मात्र छ । अर्थात् ६ लाख ९१ हजार ४ सय ९४ जनाले दुवै खेप खोप लगाए भने २३ लाख ८३ हजार ९८ जनाले अर्थात् ७.८ प्रतिशतले पहिलो खेप मात्र खोप लगाएका छन् । नेपालमा ६ लाख १४ हजार २ सय १६ जना कोरोना पोजेटिभ भएकोमा ८ हजार ५ सय ५८ जनाको मृत्यु भयो भने ५ लाख ४३ हजार ५ सय २१ जना निको भएका छन् ।

भारतले देशबाहिर सबैभन्दा पहिला भुटानलाई १ लाख ५० हजार डोज खोप पठाएको थियो । सिरम इन्स्टिच्युटले बनाएको अक्सफोर्ड–एस्ट्राजेने नामक भारतीय खोप भुटानमा मात्रै ५ लाख ३३ हजार डोज हेलिकोप्टरमार्फत पुग्यो । समयमै भारतीय खोप पाएकामा एक भुटानीले ‘धन्यवाद’ दिएको भिडियो भाइरल नै थियो केही समयअघि सामाजिक सञ्जालमा ।

विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरस भुटानमा पहिलो पटक एक ७६ वर्षीय अमेरिकी पर्यटकलाई देखिएको थियो सन् २०२० मार्च ६ मा । संक्रमित फेला परेको ६ घन्टा १८ मिनेट नबित्दै तिनको सम्पर्कमा रहेका करिब ३ सय जनाको सूची तयार पारी तुरुन्तै क्वारेन्टिनमा पठाइयो ।

राष्ट्रिय तयारी तथा प्रतिरक्षा योजनाअनुसार तत्काल कसरी काम थालियो भने राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुक आफैं कसरी काम भइरहेको छ भनेर अनुगमन गर्न निस्किएको प्रधानमन्त्री डाक्टर लोटे छिरिङले सरकारी रेडियोमा बताए ।

ती अमेरिकीबारे संकलन गरेका सूचना र तत्कालै चालेका कदमबाट थाहा हुन्छ, ‘ओरेन्ज जोन’ मा गएपछि कोरोनालाई भुटानले कति गम्भीरताका साथ लियो र सावधानी अपनायो ! भुटानले मार्च २२ मै भारतसँगको सीमा बन्द गर्यो । लकडाउन नगरी सुखै थिएन । सँगसँगै सरकारले लकडाउनको कारण विभिन्न देशमा फसेका आफ्ना नागरिकलाई चार्टर फ्ल्याइटबाट सुरक्षित रुपमा स्वदेश फर्कने बन्दोबस्त पनि मिलायो ।

सन् २०२० अगस्तमा क्वारेन्टिन बाहिरै २७ वर्षे महिला भुटानकै प्रथम संक्रमितका रुपमा देखा परेकी थिइन् । कोरोनाभाइरस महामारीविरुद्ध भुटानले चालेका कदमकै कारण मृत्युको संख्या नगण्य रह्यो । गत जनवरी ७ तारिखमा ३४ वर्षीय पुरुषको राजधानी थिम्पुस्थित अस्पतालमा निधन भयो । उनलाई पहिलेदेखि नै कलेजो र मिर्गौलाको समस्या रहेछ । तर निधनको कारण भने कोभिड-१९ बनिदियो । भुटानमा न त्यसअघि कोही कोरोनाबाट मरेको थियो, न त्यसपछि नै ।

कोभिड-१९ मा चीनले गरेको अभ्यासलाई नै भुटानले पछ्यायो । शंकास्पद बिरामीलाई अलग गराउँदै परीक्षण तीव्र बनाइयो । न्युन जनसंख्या र व्यवस्थित तथा समुदायमा आधारित हुनु पनि भुटानका लागि वरदान साबित भयो ।

भुटानी प्रधानमन्त्री लोटे छिरिङ र स्वास्थ्यमन्त्री देचेन वाङ्ग्मो दुवै जना जनस्वास्थ्यको पेसागत पृष्ठभूमिबाट आएकाले भुटानी नागरिकले सरकारलाई निकै विश्वास गरे । भुटानका ख्यातिप्राप्त चिकित्सक प्रधानमन्त्री छिरिङ शनिबारे बिदामा बिरामीहरुको शल्यक्रिया गरिरहेकै हुन्छन् ।

स्वास्थ्यमन्त्री वाङ्ग्मो आफै विश्वप्रसिद्ध येल विश्वविद्यालयबाट भाइरोलोजिस्ट हुन् । सरकारी निर्णय विज्ञानसम्मत र तथ्य, प्रमाणका आधारमा हुने गरेको टिप्पणी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को छ ।

कोरोनाभाइरस फैलन सुरु हुँदा भुटानमा ३ सय ३७ जना मात्र चिकित्सक थिए । यो संख्या विश्व स्वास्थ्य संगठनको मानकभन्दा आधा पनि होइन । सघन उपचारका निम्ति तालिमप्राप्त चिकित्सक एक जना मात्रै थिए भने  मुलुकभरमै ३ हजार स्वास्थ्यकर्मी थिए ।

देशभरका लागि एउटा मात्र पिसिआर मेसिन थियो । उसले पाँचवटा थप मेसिन मगायो । गाउँगाउँबाट स्वाबको नमुना संकलन गर्नेदेखि लिएर मेसिन सञ्चालनका लागि पशुपंक्षीदेखि खाद्यसुरक्षा कार्यक्रमसम्ममा आवद्ध जनशक्ति र विश्वविद्यालयक विद्यार्थीहरुलाई तालिम दिइयो ।

त्यसो त प्रतिव्यक्ति आय ३ हजार ४ सय १२ डलर रहेको भुटानलाई संयुक्त राष्ट्रसंघले अल्पविकसित देशमै सूचीबद्ध गरेको छ । यसको उत्तरवर्ती छिमेकी मुलुक चीनसँग दसकौंदेखि आवतजावत बन्द छ भने यसले भारतसँग ४ सय ३५ किलोमिटर लामो अव्यवस्थित सिमाना छ । कोरोना महामारीमा भारतको बेहाल संसारलाई थाहा छँदै छ ।

सन् २०२० मार्च महिनाबाटै भुटान सरकारले स्पष्ट भाषामा संक्षिप्त बुलेटिन तयार पार्न थाल्यो । हेल्पलाइन नम्बर सबैतिर विस्तार गर्‍यो । विदेशी पर्यटकहरुको आवागमनमा रोक लगायो । स्कुल तथा सार्वजनिक संस्थानहरु बन्द गरिदियो ।  जिमखाना र सिनेमा हलका ढोकामा ताला लागे । स्वास्थ्य मापदण्ड पालना भए । लकडाउनले थुनिएका प्रत्येक घरमा खानेकुरा र औषधिदेखि अन्य अत्यावश्यक वस्तु पठाउने बन्दोबस्त गरियो ।

सन् २०२० अप्रिलमा राजा जिग्मे केशर नाम्ग्याल वाङ्चुकले राहत कोषको घोषणा गरे । कोषले महामारीका प्रभावित ३४  हजार भुटानी परिवारलाई १ करोड ९० लाख अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गरायो ।

भुटानमा सबै नागरिकको स्वास्थ्य रेखदेख तथा उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयले लिएको छ । स्वास्थ्य सेवा सबै नि:शुल्क छ ।  कुनै पनि डाक्टर वा अस्पतालले नागरिकबाट शुल्क लिन पाउँदैनन् । देशको राष्ट्रिय स्वास्थ्य नीति तथा संविधानमा स्पष्ट लेखिएको छ, ‘राज्यले आधुनिक र परम्परागत औषधि दुवैमा आधारभूत सार्वजनिक स्वास्थ्य सेवामा निःशुल्क पहुँच प्रदान गर्नेछ ।’

स्मरणीय के छ भने भुटानले सन् २०१८ मै ‘हेल्थ इमर्जेन्सी अपरेसन्स सेन्टर’ र ‘विश्व स्वास्थ्य संगठन इमर्जेन्सी अपरेसन्स सेन्टर’ स्थापना गरेको थियो । चीनले सन् २००२-२००३ मा सार्स नियन्त्रण गरेको अनुभव सिकेर पारो अन्तराष्ट्रिय विमानस्थलमा ड्रिल अर्थात् नक्कली महामारी अभ्यास गरेको थियो । त्यही तालिमका कारण भुटानले अक्सिजन प्लान्ट बनाई दैनिक २ सय सिलिन्डर अक्सिजन भारत पठाइदिन सक्यो । भारतमा २ करोड ९७ लाख ३ सय १३ संक्रमित भएकोमा ३ लाख ८१ हजार ९ सय ३१ जनाले मृत्युवरण गरिसकेका छन् ।

गरिबी भए पनि खुसी हुने स्वभावका भुटानी नागरिक प्रकृतिलाई भगवान् मान्छन् । त्यहाँ ७० प्रतिशत जंगल सुरक्षित छ र प्रदूषणरहित देशमा दरिएको छ । २० वर्षदेखि प्लास्टिक प्रयोगमा प्रतिबन्ध छ । धुमपानविरुद्धको कानून बनाउने पहिलो देश हो । हरियाली वृद्धिको कीर्तिमान कायम गरेको छ । विश्व वातावरण दिवसलाई पैदल दिवसको रुपमा मनाउने पहल गरेको थियो ।

कोभिड–१९ ग्लोबल रेस्पोन्स इन्डेक्सका अनुसार दक्षिण एसियामा भुटान कोभिड–१९ नियन्त्रणमा सर्वाधिक सफल मुलक हो । देशभित्रको आन्तरिक परिवहन र आर्थिक क्रियाकलापलाई भने त्यहाँ खासै नियन्त्रण गर्नु परेन । भुटानले गाउँसहरदेखि टाढा रहेका सुविधासम्पन्न रिसोर्टहरूलाई क्वारेन्टिनमा परिणत गरेको थियो ।

त्यसैले नै अमेरिका, भारत, ब्राजिल, मेक्सिको, इटाली, बेलायत, टर्की, फ्रान्स, रुस, स्पेनजस्ता देश कोभिड–१९ सामु निरीह साबित भएका बेला कोभिड–१९ ग्लोबल रेस्पोन्स इन्डेक्समा भुटान लगायत न्युजिल्यान्ड, आइसल्यान्ड, डेनमार्क, ताइवान, भियतनाम, अस्ट्रेलिया, सिंगापुरदक्षिण कोरिया र चीनले बेग्लै पहिचान बनाएका छन् । भुटानबाट सिकेर नेपाल सरकारले सबै नेपालीलाई खोपको प्रबन्ध गर्ला त ?रिपोर्टर्स नेपाल डट कमबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार