सोलुदूधकुण्डले तयार पार्यो स्थानीय पाठ्यक्रम, यही शैक्षिक सत्रबाट लागू गर्ने

सन्तोष राउत /सोलुखुम्बु। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाले नगरपालिकास्तरीय पाठ्यक्रम तयार गरेको छ । सोलुखुम्बु बहुमूखी क्याम्पसका प्रमुख तथा पाठ्यक्रम निर्माण समितिका संयोजक उद्धवकुमार शर्माले साझा स्थानीय पाठ्यक्रम तयार पारेर नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पालाई हस्तान्तरण गर्नुभएको हो ।

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्याक्रममा समावेश गरी नगरपालिकाले कक्षा ५ मा स्थानीय पाठ्यक्रम लागु गर्ने तयारी गरेको मेयर शेर्पाले बताउनुभयो ।

नगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्ने योजना बनाएको थियो । पाठ्यक्रममा नगरपालिका क्षेत्रभित्रका प्राकृतिक स्रोत साधन तथा विकासका आधार, स्थानीय जातजाति, भुगोल, संस्कृति, रहनसहन, भेषभुषा, पर्यटन, आर्थिक, सामाजिक राजनीतिक विषयलाई समावेश गरी एक सय पुर्णाङ्कको पाठ्यक्रम निर्माण गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक शर्माले जानकारी दिनुभयो ।

स्थानीय विषय विद्यार्थीको लागि नयाँ हुने भएकाले अध्ययनमा रुची राख्ने र आर्जित ज्ञानले स्थानीय विषय पुस्तान्तरण हुने संयोजक शर्माको भनाइ छ । अघिल्लो वर्षनै तयार भएको पाठ्यक्रम करोनाका कारण शैक्षिक संस्था बन्द हुँदा शैक्षिक सत्र अन्योलमा परेपछि लागू भएको थिएन । करिब दुई वर्ष लगाएर तयार पारिएको पाठ्यक्रम निर्माणका क्रममा वडास्तरसम्म सुझाव सङ्कलन गरिएको थियो ।

पाठ्यक्रम थप व्यवस्थित र प्रभावकारी कार्यान्वयनका लागि अभिभावक तथा सरोकारवालहरुसँग सुझाव लिइएको संयोजक शर्माले जानकारी बताउनुभयो । राष्ट्रिय पाठ्यक्रममा स्थानीय धर्म, संस्कृति, जनजीवन तथा सम्भावनाका विषय समावेश नहुने भएकाले नेपाल जस्तो विविध भौगोलिक, सांस्कृतिक, भाषिकलगायतका परिवेशका कारण समाजका फरक फरक आवश्यकता र चाहना पूरा गर्न स्थानीय पाठ्यक्रम लागू गर्ने प्रावधान छ ।

विद्यालय तहसम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत रहने र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरण गर्ने अधिकार व्यवस्था गरेको छ ।

वर्तमान अवस्थामा स्थानीय विषय वा संस्कृत कक्षा १ देखि ३ सम्म ४ पाठ्यभार, कक्षा ४ र ५ मा ४ पाठ्यभार र कक्षा ६–८ मा मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय ५ पाठ्यभार र १०० पूर्णाङ्क रहेको छ । हालसम्म नगरक्षेत्र तथा जिल्लाभित्रका विद्यलायहरुले स्थानीय पाठ्यक्रमका नाममा अंग्रेजी विषयलाई शिक्षण गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार