मनसुनले मात्र गएको होइन बाढीपहिरो

असार १ गते आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची बजार नै डुबायो । हेलम्बु र पाँचपोखरी थाङ्पालमा पनि निकै ठूलो क्षति भयो । मेलम्ची र इन्द्रावतीमा मिसिएको बाढीले मानव बस्ती डुबायो । माथिल्लो भेग हेलम्बुदेखि ओइरिएको बाढीपहिरोका कारण अझै २० जना बेपत्ता छन् । चार जनाको मात्र मृत्यु पुष्टि भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पूर्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको वर्षाको आकलन त्यसअनुसार भएको थिएन । त्यसबेला वर्षा पश्चिम नेपालमा केन्द्रित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । मौसमविद्हरू ठूलो वर्षा भएको कुरा स्वीकार गर्दैनन् । भूगर्र्भविद्हरू माथिल्लो भेगमा वर्षा नभई पहिरो जानै नसक्ने बताउँछन् ।

पछिल्लो समय खण्डित वर्षा हुने क्रम बढेको छ । सानो स्थानको एकै ठाउँमा वर्षा भएका कारण एक्कासि बाढीपहिरो सिर्जना हुने गरेको भूगर्भविद् शिवकुमार बाँस्कोटा बताउनुहुन्छ । उहाँले पोहोर साल पर्वतको दुर्लुङमा गएको पहिरोको उदाहरण दिनुभयो । लुम्लेनजिकै रहे पनि त्यस समयमा त्यहाँ पानी परेको थिएन तर दुर्लुङका बासिन्दाले कहिल्यै नदेखेको दर्के पानी देखे । त्यसको केही निमेषमै पहिरोले बस्ती बगाएको थियो ।

मेलम्चीको माथिल्लो जलाधार क्षेत्रमा वर्षामापन यन्त्र थिएन । त्यहाँ पानी परेको हुनसक्ने आकलन उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले हिमनदीले ल्याएको माटोसहितको गेग्रान हेलम्बुमाथिको खहरे छेउछाउमा थुप्रिएका छन्, पानी परेपछि बल्ल त्यो बग्न थालेको हो र कतै गएर खहरे थुनिएपछि भेलपहिरो विस्फोट भएको हुनसक्छ ।”

बाँस्कोटासहितको उच्च सरकारी टोली त्यो पहिरोले थुनेको स्थलको अवलोकन गर्न जानुभएको थियो । खराब मौसमका कारण राम्ररी ठम्याउन नसकिए पनि प्रारम्भिक अवलोकनले त्यही देखाएको उहाँले सुनाउनुभयो । उहाँका अनुसार एक/डेढ सय वर्षअघि अहिलेकैजस्तो पहिरो आएर मेलम्ची थुनिएको घटना दोहोरिएको हो । स्थानीय पाकाहरू पनि यस्तै घटना धेरै वर्षअघि भएको सुनाउँछन् ।

नदीले बनाएका टारमा पछि बस्ती र बजार बनेकाले बाढीको चपेटामा पर्न गएको बाँस्कोटा तर्क गर्नुहुन्छ । उहाँका अनुसार नदीको किनार मानव सभ्यताको सूचक पनि हो । त्यहाँ जीवनको सम्भावना अधिक हुन्छ । त्यसैले मानव बस्ती र भौतिक संरचना बन्छ ।

तीन वर्षअघि २०७५ सालमा सरकारले निर्माण गरेको विपत् जोखिम न्यूनीकरण तथा राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–३० का अनुसार नेपालको उत्तरमा विशाल हिमालय पर्वत शृङ्खलादेखि दक्षिणमा तराईसम्म कुल १७० मिटरको दूरी रहेको छ । यति सानो दूरीभित्रको विविधता अधिक छ र त्यसैका कारण एकै समयमा फरक–फरक खालका प्राकृतिक विपत्तिको सामना नेपालले गर्नु परिरहेको छ ।

कार्ययोजनाअनुसार नेपालमा हरेक वर्ष पाँच सयभन्दा बढी विभिन्न खालका विपत्का घटना हुने गरेका छन् । सन् १९७१ देखि २०१५ को अवधिमा नेपालमा ४० हजारभन्दा बढी मानिसको ज्यान विपत्का कारण गएको छ । यो भनेको हरेक दिन दुई जनाभन्दा बढीको ज्यान विपत्कै कारण जाने औसत सङ्ख्या हो । त्यस अवधिमा ७५ हजारभन्दा बढी मानिस घाइते भए भने ३० लाख मानिस विपत्बाट प्रभावित बनेका छन् ।
नेपालको हरेक जिल्लामा विपत्का कारण धेरै मानिस मृत्युको उच्च जोखिममा रहेको पाइएको कार्ययोजनामा उल्लेख छ । गैरप्राकृतिक विपत् महामारी, अनिकाल, डढेलो, कीट वा सूक्ष्म जीवाणुको सङ्क्रमण, पशुपन्छीमा हुने सरुवा रोग र महामारी, सर्पदंश, जनावर आतङ्क, खानी, हवाई, जल, सडक, विषाक्त ग्यास चुहावट तथा विस्फोट, प्रदूषणका कारण हुने घटना तथा औद्योगिक दुर्घटना एकातिर छन् ।

अर्कोतर्फ प्राकृतिक विपत् हिमपात, असिना वर्षा, हिमपहिरो विस्फोट, अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो तथा भू–स्खलन, ज्वालामुखी विस्फोट, डढेलो आदिको प्रकोपमा पनि नेपालको भू–भाग अत्यधिक प्रभावित छ । विश्व मानचित्रमा नेपाल भूकम्पको अतिजोखिम भएको देशको सूचीमा ११औँ स्थानमा छ भने पहिरोको ३०औँ अति जोखिम मुलुक हो । सोही कार्ययोजनाले नेपालमा बढ्दो विकास प्रक्रियासँगै वन तथा वातावरण विनाश बढेको उल्लेख गरेको छ ।

मौसमविद् वरुण पौडेलले भूकम्प र विकास निर्माणका कारण जर्जर भएको पहाडमा हल्का वर्षाले पनि बढी असर परेको तर्क गर्नुभयो । उहाँ भन्नुहुन्छ, “मनसुनमा पानी पर्ने हो, कतै बढी र कतै कम परेको होला तर मनसुनकै कारण मात्र बाढीपहिरो गएको होइन । ” दुई सातायता मनाङ, सिन्धुपाल्चोक, लमजुङ, रोल्पा, कास्कीमा बाढीपहिरोले हालसम्म २३ जनाको ज्यान लिइसकेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । त्यसैका कारण २४ जना अझै बेपत्ता छन् ।
वैशाख १ गतेयता बाढीबाट १२ र पहिरोबाट १२ जनाको मृत्यु भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस वर्षको मनसुनमा १८ लाखभन्दा बढी मानिस विभिन्न खालको विपत्बाट प्रभावित हुने आकलन गरेर प्रतिकार्य योजना बनाएको प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।-चाँदनी हमाल/गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार