सीपबाट समृद्धिको सपना


सन्तोष राउत/सोलुखुम्बु । ‘पढेर मात्र के गर्नु, हातमा गरिखाने सीप नभएपछि’ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ३ की १९ वर्षिया अञ्जु विकले प्रश्न गर्दै भन्नुभयो । अहिलेको समयमा सीप सबैभन्दा ठूलो कुरा हो, सीप भएको मानिस जहाँ जसरी पनि जिउन, आयआर्जन गर्न सक्छ, उहाँले थप्नु भयो ।

सोलुदूधकुण्ड नगरपालिकाले सदरमुकाममा नगर क्षेत्रभित्रका दलित महिलाहरुलाई ४५ दिने आधारभूत सिलाई कटाई तालिम प्रदान गरेपछि उहाँमा यो आत्मविश्वास पलाएको हो । सीप सिकेकाले अब व्यवसायिक रुपमा स्वरोजगार बन्दै आयआर्जनमा लाग्ने उहाँले बताउनुभयो ।
उहाँसँगै सीप प्राप्त गर्नुभएकी नगरपालिका ६ की विमला विक पनि सीप भएपछि रोजगारीको चिन्ता नहुने बताउनुहुन्छ । अब यही सीपको प्रयोग गरेर भविष्यमा आयआर्जन गर्दै समृद्ध बन्ने उहाँको भनाइ छ ।

सोलुदूधकुण्ड नगरपालिकाको १० लाख रुपियाँ लागतमा नगरपालिकाभित्रका १५ जना दलित महिलालाई तालिमको आयोजना गरेको तालिम संयोजक तथा प्रशिक्षक तेजराम परियारले जानकारी दिनुभभयो । प्रशिक्षार्थीलाई खान र बस्नको व्यवस्था समेत भएकाले दैनिक नौ घण्टा भन्दा बढी समय तालिममा सहभागी गराएर बढी भन्दा बढी सीप प्रदान गरिएको उहाँले बताउनुभयो ।

प्रशिक्षार्थीहरु सिकाईमा उत्सुक भएकाले छोटो समयमा पनि धेरै सीप सिकेको प्रशिक्षक विमला तामाङले बताउनुभयो । तालिममा ड्राफ्ट तथा प्रयोगात्मक विधिबाट सिकाई भइरहेको उहाँले जानकारी दिनुभयो । तालिमले आफूहरुमा सीपकै माध्यामबाट स्वरोजगार बन्न उत्साह जागेको सहभागी महिलाहरुले बताएका छन् ।

नागरिकलाई सीपका माध्यामबाट आत्मनिर्भर बनाउन यस्तो कार्यक्रम गरिएको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । समाजमा दलित वर्गलाई सीपका माध्यामबाट स्वरोवगार बनाउँदै समृद्धितर्फ अघि बढाउन नगरपालिका लागिरहेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार