प्रधानमन्त्री ओलीले देशवासीका नाममा २ बजे सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्ने छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनले अपराह्न २ बजे सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि आजदेखि ओली पदमुक्त हुँदै छन् । उनले आजै प्रधानमन्त्रीको सरकारी निवास पनि छाड्दै छन् ।

विसं २०७४ फागुन ३ मा नियुक्त भएपछि नेकपा(एमाले) संसदीय दलका नेता ओली तीन वर्ष चार महिना प्रधानमन्त्रीमा रहेका थिए । यस्तै प्रधानमन्त्रीले अपराह्न सम्बोधन गर्ने भएपछि एमाले स्थायी कमिटी बैठक पनि स्थगन गरिएको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले आज अपराह्न १ बजे बोलाइएको बैठक स्थगन गरिएको जानकारी दिए ।

यसैबीच एमाले विवाद समाधान कार्यदलले आफ्नो सहमतिका बूँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको छ । यसअघि सोमबार अध्यक्ष ओलीलाई सो सहमति बुझाइएको थियो । नेता नेपालले पार्टी एकता अघि बढाउन आफू विपक्षी गठनबन्धनबाट अलग भएको जानकारी दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार